arrow

टीओआरबारे जनतालाई दिग्भ्रमित पार्न एमालेको मिडियाबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
sahakari-samiti-81-2-8.jpg
तस्बिर : फाइल

काठमाडौँ। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन समितिको कार्यादेश (टीओआर) सम्बन्धी छलफलमा भइरहेको समयमा एमालेले काँग्रेस विरुद्ध मिडियाबाजी गरेको छ। टीओआरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्न काँग्रेस तयार भएको भन्दै समितिमा एमालेका तर्फबाट सदस्य रहेका प्रमुख सचेतक महेश बर्तौंलाले मिडियाबाजी गरेका हुन्।

तर, काँग्रेसले गृहमन्त्री लामिछानेको नाम हटाउने सम्बन्धमा कुनै पनि प्रस्ताव नगरेको काँग्रेसले प्रस्ट पारेको छ। पार्टीका सहमहामन्त्री समेत रहेका कार्यदल सदस्य जीवन परियारले काँग्रेसले गृहमन्त्री लामिछानेको नाम हटाउने गरी कुनै प्रस्ताव नगरेको प्रस्ट पारे।

‘टीओआरमा के राख्ने भन्ने सम्बन्धमा उहाँहरू र हामीले आ–आफ्नो प्रस्ताव राखेका छौँ। हामीले राखेको प्रस्तावमा नाम राख्नु नै पर्छ भन्ने कुरा छ,’ परियारले भने, ‘उहाँहरूले काँग्रेस नाम नराख्न तयार भयो भन्नुभएको रहेछ, त्यो सही होइन।’

उक्त कार्यदलको बैठक आज बिहान बसेको थियो। प्रतिनिधिसभा बैठक समेत भएको र कार्यदलमा रास्वपाका सदस्य सन्तोष परियारले सभापतिसँग कुरा गर्नुपर्ने भन्दै समय समेत मागेपछि बिहानको बैठक स्थगित गरिएको थियो। अब फेरि बैठक बस्ने सहमहामन्त्री परियारले बताए। 

त्यसो त, आज संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। अब सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको बैठक १० मिनेटमै स्थगित भएको हो। अब अर्को बैठक आइतबारका लागि बोलाइएको छ। आइतबारसम्म सहमतिमा पुगेर संसद् निर्बाध रूपले चल्ने अवस्था बनाउन आफूहरू लचक भए पनि काँग्रेसले राख्दै आएको मागको मूल आशय विपरीत सहमति नहुने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ