arrow

रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
taleban1.jpg

काठमाडौँ । अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले सोमबार बताएको छ । 

मस्कोले वर्षौंदेखि तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ, धेरै चरणको वार्ता गरेको छ र अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद अफगानिस्तानसँगको व्यापारलाई बढावा दिएको छ । 

“कजाकिस्तानले हालै तालिबानलाई आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने निर्णय गरेको छ, यस्तै निर्णय हामी पनि गर्न गइरहेका छौँ”, विदेशमन्त्री सर्गेई लाभरोभलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले भनेको छ । कजाकिस्तानले सन् २०२३ को अन्त्यमा तालिबानलाई प्रतिबन्धित सङ्गठनहरूको सूचीबाट हटाएको थियो । 

यो कदमले रुस र अफगानिस्तानबीचको कूटनीतिलाई थप प्रवर्द्धन गर्न सक्छ तर तालिबान सरकार र यसलाई ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’ भनिने आधिकारिक मान्यता प्राप्त गर्ने छैन । 

तालिबानले सन् २०२१ मा अमेरिका समर्थित सरकारबाट सत्ता हत्याएको थियो । उनीहरूले इस्लामिक कानूनको चरम रूप लागु गरेका छन् । उक्त कानूनले महिलाहरूलाई सार्वजनिक जीवनबाट प्रभावकारीरूपमा प्रतिबन्धित गर्दछ । 

लाभरोभले रुसको निर्णय वास्तविक धरातललाई मान्यता दिनेबारे भएको बताए । “उनीहरू वास्तविक शक्ति हुन्, हामी अफगानिस्तानप्रति उदासीन छैनौँ र सबैभन्दा महत्त्वपूर्ण मध्य एसियामा हाम्रा सहयोगीहरू उदासीन छैनन्”, उनले भने । 

रुसले तालिबान प्रतिनिधिहरूलाई आफ्नो प्रमुख सेन्ट पिटसबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा पनि आमन्त्रित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

यस घटनालाई कुनै समय पश्चिमसँग रुसको आर्थिक सम्बन्धको आधारशीलाका रूपमा हेरिएको थियो । रुसले वर्षौंदेखि तालिबानसँग सम्बन्ध कायम गर्दै आएको छ । 

सन् २०१८ मा अमेरिकी सेनाप्रमुखले मस्कोले अफगानिस्तानमा हतियार प्रदान गरिरहेको आरोप लगाउनुभएको थियो । उक्त आरोपलाई मस्कोले उक्त समयमा अस्वीकार गरेको थियो । 

तालिबानलाई सन् २००३ मा रुसमा आतङ्कवादी सङ्गठन घोषणा गरिएको थियो । मस्कोको अफगानिस्तानसँग जटिल इतिहास छ । 

सोभियत सङ्घले सन् १९८० को दशकमा क्रेमलिन समर्थित सरकारलाई समर्थन गर्नका लागि छापामार मुजाहिद्दीन लडाकूविरुद्ध एक दशक लामो युद्ध लडेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ