arrow

‘पूँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
jeevan-pariyar-03-13.jpg

काठमाडौँ।  नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताएका छन् ।

 प्रतिनिधि सभाको मंगलबारको दोस्रो बैठकमा आगामी आव २०८१-८२ को बजेटमाथि छलफलका क्रममा उनले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।  
  
उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताए । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी प्रस्तुत भएको आशङ्का व्यक्त गर्दै उनले भन्सार दर वृद्धि गर्दा तस्करी र चुहावट बढ्नेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । 

“आझको मितिसम्म रु आठ सय ७० अर्ब राजस्व उठेको छ, यो हिसाबले असार मसान्तसम्म मुस्किलले रु ११ सय अर्बभन्दा बढी उठ्ने सम्भावना छैन । यस्तो अवस्थामा रु १८ सय ६० अर्बको बजेट प्रस्तुत भएको छ, बाँकी पैसा कसरी ल्याउने सोच्नुभएको छ ? म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने, “हाम्रो ऋणको आकार झनझन बढ्दै छ । ऋण उठाएर ऋणको सावा ब्याज तिर्न लागिरहेका छौँ, यस्तो अवस्थामा कसरी राष्ट्रिय पँुजी निर्माण हुन्छ ?”

बजेटमाथिको छलफलमा सांसदहरू राजेन्द्रकुमार केसी, मुक्ताकुमारी यादव, सुशीला श्रीपाली ठकुरी, सुनिता बराल, प्रभु हजारा, सरस्वती सुब्बा, दीपा शर्मा, सुहाङ नेम्बाङ, तारा लामा तामाङ, रामकृष्ण यादव, सन्तोष चालिसे, सीताकुमारी राना, पुष्पबहादुर साह, राजेन्द्र बजगाईलगायतले बजेटमाथि टिप्पणी गरे ।
  
बजेटमाथि सांसदहरूले बोल्ने क्रम आगामी बैठकमा पनि जारिरहने सभामुख देवराज घिमिरेले जानकारी गराए । मंगलबारको बैठकमा गत वैशाख २५ गते निधन हुनुभएका पूर्वसांसद एवं पूर्वमन्त्री सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्वसांसद सैयद मेहराज अहद साह (बाँके) र यही जेठ १ गते निधन हुनुभएका पूर्वसांसद खगेन्द्रराज रेग्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो । 

प्रतिनिधि सभाको अर्काे बैठक यही जेठ २३ गते बुधबार बिहान ११ बजे बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ