‘पूँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
479
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको दोस्रो बैठकमा आगामी आव २०८१-८२ को बजेटमाथि छलफलका क्रममा उनले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताए । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी प्रस्तुत भएको आशङ्का व्यक्त गर्दै उनले भन्सार दर वृद्धि गर्दा तस्करी र चुहावट बढ्नेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए ।
“आझको मितिसम्म रु आठ सय ७० अर्ब राजस्व उठेको छ, यो हिसाबले असार मसान्तसम्म मुस्किलले रु ११ सय अर्बभन्दा बढी उठ्ने सम्भावना छैन । यस्तो अवस्थामा रु १८ सय ६० अर्बको बजेट प्रस्तुत भएको छ, बाँकी पैसा कसरी ल्याउने सोच्नुभएको छ ? म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, उनले भने, “हाम्रो ऋणको आकार झनझन बढ्दै छ । ऋण उठाएर ऋणको सावा ब्याज तिर्न लागिरहेका छौँ, यस्तो अवस्थामा कसरी राष्ट्रिय पँुजी निर्माण हुन्छ ?”
बजेटमाथि सांसदहरूले बोल्ने क्रम आगामी बैठकमा पनि जारिरहने सभामुख देवराज घिमिरेले जानकारी गराए । मंगलबारको बैठकमा गत वैशाख २५ गते निधन हुनुभएका पूर्वसांसद एवं पूर्वमन्त्री सूर्यमान गुरुङ (ताप्लेजुङ), पूर्वसांसद सैयद मेहराज अहद साह (बाँके) र यही जेठ १ गते निधन हुनुभएका पूर्वसांसद खगेन्द्रराज रेग्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।
प्रतिनिधि सभाको अर्काे बैठक यही जेठ २३ गते बुधबार बिहान ११ बजे बस्ने छ ।