arrow

बंगलादेशी सांसद अनारका हत्या आरोपीलाई नेपालबाट भारत पठाइयो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २३ बुधबार
anar-killed-bangladeshi-202.jpg

काठमाडौँ । बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपीलाई नेपालबाट भारत पठाइदिइएको छ । नेपालमा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेनलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले सटाक सुटुक पारेर भारत फिर्ता गरेको हो । 

मंगलबार बिहान उनलाई स्थलमार्ग हुँदै भारत पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सियाम हुसेनलाई प्रहरी परिसरको हिरासतबाट ठमेलको एक सेफ हाउसमा राखेर पठाइएको हो । 

उनी यसअघि पनि नेपाल आएकाले अध्यागमनमा उपस्थित गराई त्यहीबाट डिपोर्टको कागज बनाएर इन्टरपोल मार्फत भारतीय प्रहरीलाई बुझाइएको हो ।

बंगलादेशका सांसदको हत्या आरोप लागेका सियाम हुसेन नेपालको विमानस्थलबाट  बिहीबार राति पक्राउ परेका थिए । उनलाई बंगलादेश नपठाउन भारतको उच्च तहबाट समेत नेपाल प्रहरीलाई दबाब दिइएको थियो ।   

हुसेनलाई लिन बंगलादेशबाट नेपाल आएका प्रहरीले कूटनीतिक पहल गरेका भएपनि सफल भएनन । नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि नभएको भन्दै पक्राउ परेका हुसेनलाई बंगलादेश पठाउन नसकिने जवाफ बंगलादेश प्रहरीलाई दिइएको थियो । 

नेपालमा पक्राउ परेका हुुसेनलाई सिधै बंगालदेश पठाउँदा त्यहाँको कानूनअनुसार मृत्युदण्ड हुने भएकाले पनि नेपाल प्रहरीले भारततर्फ पठाइदिएको हो । 

बंगलादेशी सांसदको कोलकातामा हत्या भएकाले पनि भारततर्फ पठाउन सहज हुने प्रहरीले ठानेको थियो । उनलाई लिन भन्दै महानगरीय प्रहरी कार्यालय ढाका अन्तर्गतको डिटेक्टिभ ब्रान्च (डिबी) बाट चार सदस्यीय टोली काठमाडौँ आएको थियो । सो टोलीले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेटघाट गरेर डिपोर्ट गरिदिन आग्रह गरेका भए पनि सोमबार रित्तै फर्किएको थियो ।

बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन् । 

उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे । गत वर्ष अनार र अख्तरुज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो । 

त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो । अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन् । बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ । 

नेपालको बाटो हुँदै २१ मे मा अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको थियो । तर अहिलेसम्म अदालतमा अख्तरज्जमानको मुद्दा नपुगेकाले रेड नोटिस जारी हुन सकेको छैन । 

बंगलादेशको जेनाइदाहका सांसद अनवरुल अजीमको हत्याको घटनामा पक्राउ परेका कसाई जिहादलाई लिएर बंगलादेशका पुलिस अधिकारीहरूले न्यू टाउनको फ्ल्याटमा अपराधको पुष्टि  गरेका थिए ।  

२२ मे मा बंगलादेशी सांसदको कलकत्तामा शव फेला परेको थियो । बंगलादेश पुलिसको गुप्तचर विभागका प्रमुखले तयारी र योजना अनुसार हत्या उनको हत्यो भएको आशंका गरेका थिए । 

यस हत्यामा बंगलादेशका तीन र कोलकाताका एक जना पक्राउ परेका छन्, तर अन्य चार आरोपी शाहीन, सियाम, फैजल र मुस्ताफिजुर अझै बेपत्ता छन् । 

जसमध्येमा एक सियामलाई नेपाल प्रहरीले पक्राउ गरेको हो भने अर्का आरोपी नेपालको बाटो हुँदै अमेरिका पुगिसकेका छन् । 

अख्तरज्जमान भने त्रिभुवन विमानस्थलबाट दुबई हुँदै अमेरिका पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ