arrow

चीनलाई युक्रेनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
china-flag-ani.jpg

काठमाडौँ । युक्रेनले चीनलाई यसै महिना स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिन आग्रह गरेको छ । 

युक्रेनको विदेश मन्त्रालयलका एक अधिकारीले बुधबार चिनियाँ अधिकारीहरूलाई सम्मेलनमा सहभागी हुन आग्रह गरेको मन्त्रालयले बताएको छ । 

बेइजिङले आफ्नो सहयोगी रुसलाई आमन्त्रित नगरिएको भन्दै जुन १५–१६ मा हुने सम्मेलनको आलोचना गरेको छ । उसले रुसले सम्मेलनमा सहभागी नगराइए चीनका लागि सहभागी हुन ‘कठिन’ हुने बताएको छ । 

चीनले अन्य मुलुकलाई सम्मेलनमा भाग लिन रोक्न खोजिरहेको छ भन्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आरोपलाई पनि बेइजिङले अस्वीकार गरेको छ । 

उपविदेशमन्त्री एन्ड्री सिबिगाले बेइजिङको भ्रमण गरेको र आफ्ना समकक्षी सन वेइडोङसँग भेटवार्ता गरेको युक्रेनी विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा बताएको छ । 

युक्रेनी पक्षले उक्त कार्यक्रममा चीनको सहभागिताले युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति हासिल गर्न व्यावहारिक योगदान गर्ने राम्रो अवसर हुने आशा व्यक्त गरेको युक्रेनी मन्त्रालयले बताएको छ । 

“पक्षहरूले उल्लेख गरेअनुसार सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि पारस्परिक सम्मान नै युक्रेन र चीनबीच द्विपक्षीय सम्बन्धको आधार हो”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ । 

युक्रेन युद्धमा चीन तटस्थ पक्ष रहेको बेइजिङले दाबी गरे पनि रुससँग उसको रणनीतिक साझेदारीलाई लिएर उसले पश्चिमी मुलुकहरूबाट कडा आलोचनाको सामना गर्नुपरेको छ । 

क्रेमलिनले रुसलाई सहभागी नगराई युक्रेनमा दिगो शान्तिमा पुग्ने सम्भावनामाथि चर्चा गर्नु ‘निरर्थक’ हुने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ