arrow

जनप्रतिनिधिमा अझै पञ्चायती कार्यशैलीको धङधङी : उपमहासचिव गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
prithivi-subba-gurung-2080-10-23.jpg
तस्बिर-फाइल

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले देशमा गणतन्त्र आए पनि स्थानीय जनप्रतिनिधिमा अझै गणतन्त्र आउन नसकेको टिप्पणी गरेका छन् । 

बेँसीसहरमा आयोजित लमजुङ दर्पण दैनिकको ११औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता गुरुङले जनप्रतिनिधिमा अझै पञ्चायती कार्यशैलीको धङधङी रहेको बताए ।

“उहाँहरु आफू सरकार भएको दाबी गर्छन् तर व्यवहार सरकारको जस्तो छैन”, उनले भने, “सङ्घीयताको अवधारणाअनुसार स्थानीय सरकारले काम गर्न सकेनन् ।” 

उनले स्थानीय सरकारलाई विपद् कोष बनाउन र गरेका कामको प्रचारप्रसार गर्न सुझाव दिएको बताए । 

उनले स्थानीय सरकारले प्रोफाइल तयार पार्ने, डकुमेन्ट्री बनाउने, सचेतनाका कार्यक्रम गर्नेलगायतका काम मिडियासँग मिलेर गर्न सकिने बताए । यसले मिडियाको संरक्षण र स्थानीय सरकारको प्रचार दुवै काम हुने उनको धारणा छ ।

“स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै अभ्यास गर्नेगरी व्यवस्था मिलाइएको छ । अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै अधिकार र दायित्वहरु छन् । वडाध्यक्ष र कार्यपालिका सदस्य एउटै भूमिकाका हुन्”, उनले भने । 

उनले थप्, “कार्यपालिकामा अध्यक्ष वा मेयर प्रधानमन्त्री जस्तो हुन्छ भने व्यवस्थापिकामा सभामुख जस्तो । बजेट आउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्यो । नीति तथा कार्यक्रम अघि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनुपर्यो । स्थानीय सरकारले यसको पालना नै गर्दैनन् ।”

उनले स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले भूमिका पनि भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारसँगै रैथाने बालीको परिकारमा जोड दिनुपर्ने बताए । 

देशमा पर्यटन आगमनको सङ्ख्या बढाउन पोखरालगायत अन्तर्राष्ट्रिय विमानस्थाल सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको दृष्टिले सम्भावनायुक्त रहेको बताइन् ।

उनले यस क्षेत्रका सबैखाले पर्यटनको विकास र प्रवर्द्धनमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ