arrow

ओलीको निर्देशन लत्याउँदै प्यानल बनाएर एमाले काभ्रे चुनावी मैदानमा

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ जेठ ३० बुधबार
uml-kavre-81-2-30.jpg

काभ्रे । धुलिखेलमा जारी नेकपा एमाले काभ्रेको ११ औँ जिल्ला अधिवेशनअन्तर्गत अहिले नयाँ जिल्ला कमिटीका लागि मतदान हुँदैछ । दिउँसो ३:३० बजे पछि मतदान शुरु गर्ने कार्यतालिका निर्वाचन समितिले तय गरेको छ । 

बन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरु पारित भएपछि हिजो साँझदेखि निर्वाचन प्रक्रिया शुरु भएको थियो । हिजो उम्मेदवारी दर्ता भएको थियो । नयाँ नेतृत्वको लागि अहिलेका उपाध्यक्ष चन्द्र लामा र सचिव राजन भुर्तेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

लामाको प्यानलमा उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुलामा पुरुषोत्तम अधिकारी र महिला उपसचिवमा पवित्रा भुर्तेल छन् ।

त्यस्तै भुर्तेलको प्यानलमा उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव खुलामा रत्नकुश रंजित र महिला उपसचिवमा सूर्यमाया दनुवारको प्यानल बनेको छ । 

यस्तै उपसचिव महिलामा शान्ता न्यौपाने उपसचिव हरि मैनाली दुवै प्यानलमा परेका छैनन् । नेता एवं सांसद गोकुल बाँस्कोटा, निवर्तमान अध्यक्ष अशोक बेञ्जु लगायतले भुर्तेललाई साथ दिइरहेका छन् । लामालाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा रेशम लामा, रुक्मणी बराइली, अमित लामालगायत खुलेर लागेका छन् ।

विद्युतीय मेसिनबाट मतदान गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । एमालेको जिल्ला कमिटीमा ५ जना पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० जना सदस्य, समावेशीतर्फ १३ जना सदस्य र खुलातर्फ ७ जना सदस्य गरी कुल १०५ जना निर्वाचित हुनेछन् । यस्तै लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित हुने छन् । 

लेखा आयोगको अध्यक्षमा सत्यनारायण सापकोटा र उपाध्यक्षमा टिकाप्रसाद ढकालको मात्र उम्मेदवारी परेको छ । अन्य केही पदमा पनि सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी गुटबन्दी गर्ने, पद बाँड्ने पार्टीभित्रै अन्तरसङ्घर्ष गर्ने पार्टी नभएको बताउँदै सहमतिमा नयाँ जिल्ला नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ