arrow

लोमान्थाङमा पश्मिना 'डि-डस्टिङ' प्लान्ट स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
Chyangra-mustang.jpg

काठमाडौं : स्थानीय किसानबाट गुणस्तरको च्याङ्ग्रा भूवा सङ्कलन गरी समग्र पश्मिनाको गुणस्तर बढाउने उद्देश्यले मुस्ताङको लोमान्थाङमा च्याङ्ग्रा फाइवरबाट आधुनिक तरिकाले धुलो झार्ने प्लान्ट (डिडस्टिङ प्लान्ट) स्थापना भएको छ ।

नेपालका लागि बेलायती राजदूत रब फेन, लोमान्थाङ गाउँपालिका प्रमुख टासी नुर्बु गुरूङ र उपप्रमुख छुमी विष्टले संयुक्त रूपमा उक्त प्लान्टको शुभारम्भ गरे । उद्घाटनका क्रममा राजदूत फेनले नेपाली च्याङ्ग्रा पश्मिनालाई फार्मदेखि फेसनसम्मको मूल्य शृङ्खलामा ब्रान्डिङ गर्नका लागि यस प्लान्टको स्थापनाले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

राजदूत फेनले महत्त्वपूर्ण गुणस्तर रहेको र पश्मिना क्षेत्रलाई बेलायतको बजारमा प्रवर्द्धनको लागि आफूले पहल गर्ने जनाए । साथै, राजदूत फेनले लोमान्थाङमा च्याङ्ग्रा भूवा सङ्कलन गर्ने कार्यको पनि सुरुआत तथा अवलोकन गरेका छन् । 

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीयवासी विशेष गरी युवा तथा महिलाको रोजगारीका अवसर सिर्जना गर्न र आय आर्जनमा वृद्धि गर्न च्याङ्ग्रा र फाइवरको उत्पादन र फाइबरलाई प्रवर्द्धन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । 

नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना व्यवसायीले स्थानीय च्याङ्ग्रा किसानलाई पश्मिना मूल्य शृङ्खलामा समाहित गर्दै राम्रो मूल्य र बजार उपलब्ध गराउन पश्मिना उद्यमीले प्रयास गरिरहेको उल्लेख गर्दै यस क्षेत्रको प्रवर्द्धनका लागि सरकार र विकास साझेदार संस्थाको सहयोगको अपेक्षा गरेका छन् । 

नेपाल पश्मिना उद्योग सङ्घका सदस्य सन्तोष प्रसाद अधिाकरीले किसानदेखि पश्मिनाका सामान उत्पादनसम्म रोजगारको अवसर रहने र अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पश्मिनाले आफ्नो छाप छाड्न थालिसकेको बताए। 

नेपाल पश्मिना उद्योग सङ्घले युनाइटेड किंगडम ट्रेड पार्टनरसिप प्रोग्राम नेपाल तथा अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा स्थापना गरेको यो प्लान्टले नेपालको पश्मिना उत्पादन र निकासीका लागि उच्च गुणस्तरको च्याङ्ग्रा फाइबरको आपूर्तिलाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

च्याङ्ग्रा पालनको लागि अग्रणी मुस्ताङ जिल्लाका स्थानीय कृषकहरूबाट सङ्कलन गरिएको फाइबरको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार निर्माण गरिएको उक्त प्लान्टको लोमान्थाङमा स्थापना भएको हो । विशेष गुणस्तरको लागि विश्वमा प्रसिद्धि कमाएको नेपाली पश्मिनाको माग अन्तर्राष्ट्रिय बजारमा अत्यधिक छ । 

च्याङ्ग्रा पश्मिनालाई सरकारले नेपालको उच्च सम्भावित निर्यातजन्य वस्तुको रूपमा लिएको छ । गत वर्ष, नेपाल सरकारले नेपाल पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२–२०२६ ल्याएको थियो । रणनीतिमा सन् २०२६ सम्ममा पश्मिना निर्यात ७५ मिलियन अमेरिकी डलरमा पुर्‍याउने लक्ष्य राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ