- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताए । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले मेरो सहभागितामा नेपाल बन्दैछ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे ।
उनले नेपाल बन्न सक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दैछ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताए । उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने बताए ।
महामन्त्री शर्माले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाको ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि स्मरण गराए ।
महामन्त्री शर्माले सो आयोजना अघि बढाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष सबै एक भएर अघि बढ्नुपर्ने बताए ।