arrow

कांग्रेसले आफ्नो नेतृत्व र पहलमा भएका कामको जश लिन सकेन – नेताहरु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ असार ३ सोमबार
congress-kavre-81-3-3.jpg

काभ्रे । नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्नो नेतृत्व र पहलमा भएका विकास, योजनाहरुको प्रचार गर्न नसक्दा विपक्षीहरुले त्यसको फाइदा लिइरहेको तर्क गरेका छन् ।

नेपाली कांग्रेस बेथानचोक गाउँपालिका कार्यसमितिले जनप्रतिनिधि र पार्टीबीच गरेको अन्तर्क्रियामा बोल्ने अधिकाशंले पार्टीको नेतृत्वमा भएका सबै कामहरुको चर्चा, परिचर्चा र प्रचार हुनुपर्ने बताए ।

बागमती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले आफू मन्त्री हुँदा काभ्रेका सबै वडामा बजेट र योजनाको न्यायोचित वितरण गरेको भन्दै पार्टीले त्यसको अपनत्व लिनुपर्ने बताए । 

‘केही समय बाग्मती प्रदेश सरकारमा रहँदा काभ्रेमा मात्रै ४ अर्ब बराबरको विकासको काम भएको छ, सबै वडामा न्यायोचित वितरण भएको मलाई लाग्छ,’ उनले भने, ‘पार्टीले पनि यसको अपनत्व लिँदै सबैले यसको प्रचार प्रसार र अरुले दिएको भ्रम चिर्नुपर्छ ।’

प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति समेत रहेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले मतदाताका सबै अपेक्षा पुरा गर्न सरकारमा हुनुपर्ने तर्क गर्दै उनले गरेका कामको पनि प्रचार हुन नसकेको तर्क गरे । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संघीयताप्रति अनुदार देखिएको भन्दै २६ प्रतिशत सम्म संघीय अनुदान काटिएकोले आन्दोलित हुनपर्ने परिस्थिती सृजना भएको बताए ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पार्टीबाट जितेका जनप्रतिनिधीले गरेका कामको प्रचारका साथै अरुले गरेका अनर्गल प्रचारको प्रतिरोध गर्नुपर्ने बताए । कांग्रेस जिल्ला सभापति लामा मन्त्री भएका बेला विनियोजन भएका विभिन्न योजना हाल काटिएको भन्दै त्यसको कारणबारे प्रश्न गर्न अनुरोध गरे ।

नेपाली काग्रेस बेथानचोकका सभापति प्रेमबहादुर तिमल्सिनाले जनप्रतिनिधी पार्टी र कार्यकर्ताप्रति बफादार हुनुपर्ने भन्दै आफ्नो र अहिलेको कार्यकालमा भएका विकास निर्माणका कामहरुको चर्चा गर्न अनुरोध गरे ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यसमिति काभ्रेका सदस्य सरिता लामिछाने तामाङ, क्षेत्रीय सदस्य शेरबहादुर खत्री, वडा नं १ का सभापति मर्दनसिं तामाङ, वडाअध्यक्ष मधुसुदन तिमल्सिना, वडा नं २ का सभापति नवराज केसी, वडाअध्यक्ष पुरुतोषम तिमल्सिना, वडा नं ३ का सभापति बेद ढकाल, पूर्व वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, स्थानीय गणेशप्रसाद तिमल्सिना, बासु तिमल्सिना, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का सभापति एवं पूर्व वडाअध्यक्ष खजेञ्जी लामा, वडा नं ६ का सभापति भीमबहादुर तामाङ, वडा अध्यक्ष विष्णुबहादुर तामाङ लगायतले पार्टी र जनप्रतिनिधीविच सहकार्य बढाउन, एकता कायम गर्न, प्रशिक्षित गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बेथानचोक गाउँपालिका वडा नं २ स्थित नाङगेचौरमा बसेको जिल्ला कार्यसमितिको बैठकले वडा सम्मेलनसंगै कृयाशिल सदस्यता प्रमाणपत्र (कार्ड) वितरणलाई निरन्रता दिने र आगामी महिनाको बैठक धुलिखेल नगरपालिकामा गर्ने निर्णय गरेको सचिव गुणराज मोक्तानले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ