arrow

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम पदार्थको ढुवानी निरन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
petroleum-line-81-3-3-www.jpg

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको हो ।

चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । 

सहमति अनुसार ट्यांकर चालकहरुको माग सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । 

त्यस्तै  आन्दोलनरत चालकले आजैदेखि ढुवानी चालु गर्ने सहमति भएको छ । सहमतिपत्रमा निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरे ।
 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो । 

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।

आइतबारदेखि व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी रोक्दा अहिले बजारमा चरम अभावको अवस्था छ । साझा, नेपाल प्रहरी, नेपाली सेनाको पेट्रोल पम्पमात्रै खुल्दा ती पम्पहरुमा तेल भर्नेको भीड लागेको छ ।

साँझसम्म निजी पम्पहरुले पनि वितरण थाल्ने बताइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ