arrow

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
Pokhara international airport nepal.jpg
तस्बिर-फाइल

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अन्तर्राष्ट्रिय विमानस्थाललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्रीले ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे सरोकारवालासँग छलफल गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङका अनुसार छलफलमा प्रधानमन्त्रीले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएकामा जोड दिँदै पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारी निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

राष्ट्रिय गौरवका दुवै परियोजना निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले उनले निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको परिस्थितिमा ती विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको विकल्प नरहेको बताए । प्रधानमन्त्रीले विमानस्थलहरु सञ्चालनको ठोस प्रस्ताव चाँडो ल्याउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

प्रधानमन्त्रीले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या रहेकाले यसको उचित समाधान दिनुपर्ने आवश्यकता रहेको औँल्याए । वैदेशिक रोजगारीमा जाने यात्रु र अन्य यात्रुलाई पोखरा र भैरहवाबाटै उडान गराउने गरी तयारी गर्नुपर्नेमा उनको जोड छ ।

त्यसका लागि श्रम स्वीकृति, अध्यागमन, मेडिकललगायत सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गरिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

उनले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि हवाइ टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा सहुलियत दिन सकिने धारणा राखे । निजी क्षेत्रसँग समन्वय गरेर होटललगायतमा सहुलियत प्याकेजका निम्तिसमेत आग्रह गरे ।

छलफलमा पर्यटनमन्त्री तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेसम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए ।

पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताउँदै दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयका तर्फबाट विदेशी विमान कम्पनीहरूसँग छलफल भइरहेको जानकारी दिए ।

छलफलमा पर्यटनमन्त्री तामाङ, मुख्यसचिव डा बैकुण्ठ अर्याल, पर्यटन सचिव डा पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ