arrow

विनोद चौधरीको एसएलसी अनुभव : जाल्पा मिसले सिकाएको व्यापारलाई अहिलेसम्म निरन्तरता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
binod-chaudhary-2080-09-29.jpg
तस्बिर : फाइल

काठमाडौँ। बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजासँगै कतिपय उच्चशिक्षाको लागि कलेजहरू खोजी रहेका छन् भने कतिपयले पूरक परीक्षाको तयारी गरिरहेका छन् । 

एसईईको नतिजा सार्वजनिक भएको यही प्रसङ्गमा नेपालका एक मात्र अर्ब पति विनोद चौधरीले भने आफूलाई स्कुलले नै व्यापार गर्न सिकाएको रमाइलो प्रसङ्ग निकालेका छन् । सामाजिक सञ्जालमार्फत अनुभव शेयर गर्दै भक्तपुरको आदर्श बहुउद्देश्यीय स्कुलकी जाल्पा मिसले सिकाएको व्यापारलाई अहिले समेत निरन्तरता लिएको बताएका छन् । 

हेर्नुहोस्, चौधरीको एसएलसी अनुभवको पूर्ण पाठ :

मैले कक्षा ६ देखि  भक्तपुरको आदर्श बहुउद्देश्यीय स्कुलमा पढेँ।

त्यो स्कुलमा व्यावसायिकतर्फ चार वटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो। ‘इन्डस्ट्रियल साइन्स’ मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो। अर्को थियो, ‘होम साइन्स’ । 

खानेकुरा पकाउन, लुगा सिलाउन, बगैँचा स्याहार्न सिकाउने यो विषय धेरैजसो केटीहरूले लिन्थे। ‘कृषि’मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो। चौथो विषय थियो, ‘सेक्रेटेरियल साइन्स’ । यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो। मैले यही विषय लिए।

हामीलाई ‘सेक्रेटेरियल साइन्स’ पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान। एक दिन उहाँले कक्षामा आएर भन्नुभयो, ‘म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।’

हामी वाल्ल पर्यौं ।

‘दुईचार कुरा सिक्न पाउँछौ, एक दुई पैसा बचत हुन्छ’ उहाँले सोध्नुभयो, ‘समूहको नेतृत्व कल्ले गर्छ ?’ कक्षा अचानक जाँच दिनुपरेजस्तो सामसुम भयो। मैले फ्याट्ट हात उठाएँ।

हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौ । टिफिनबाट दिएको पैसा जम्मा गरौँ भने त्यो पनि थिएन। स्कुलमै खुवाउँथ्यो। समस्या पर्‍यो। मैले उपाय सोचेँ, अबदेखि चना चटपट, बम्बईया लड्डु सबै बन्द। घरबाट पैसा लिने, खर्च भने नगर्ने। केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।

साथीहरूले मेरो प्रस्ताव माने।

पैसा बचाऊ अभियान सुरु भयो। म दिनहुँ साथीहरूसँग पैसा उठाउने, धर लगेर खुत्रुकेमा खसाल्ने  । पहेँलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएँ ‘स्कूल प्रोजेक्ट’ ।कसले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा  कापी किनेका थियौ। हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो।

महिना दिनपछि हामीले खुत्रुके फोड्‌यौँ । डेढ सय रुपैयाँ चानचुन जम्मा भएछ ।

मिसले भन्नुभएको थियो, ‘स्कूलमा के चिज बढी बिक्छ, त्यही राख्नु ।’ हामीले पिपलमेड पाउँ, रङ्गीबिरङ्गी इरेजर, थरी थरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौँ ।

हामी हाफटाइममा छि‌छिटो खाजा खाएर कक्षाका डेस्क बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउथियौ । सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेरै भए। कोही सोध्न पनि आए, ‘के रमिता हो’ भनेर। हामीले प्रोजेक्ट वर्क’ भन्यौँ। 

सुनेर उनीहरू खासखुस गर्ने। अनि गोजी छाम्थे। हामीले सामान नै त्यस्तै छानेका थियौ मन भुलाउने, आँखा लोभ्याउने। हाफटाइमको आधा घन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पाथ्र्यौं।

अन्तिम घण्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्ने थियो । कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो सब त्यही म्याथ कापीका चार पाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।

व्यापारमा त्यो मेरो चञ्चु प्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोबार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन । सानोठूलोको कुरा मात्र हो ।

बहूद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्ध चेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्‍यो भन्ने लाग्छ । बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद विकीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधा घन्टे पसलबाट सिकेँ।

विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिने गरी पढाउने त्यो स्कुलले मेरो जीवनमा एक सय असी डिग्रीको परिवर्तन ल्याइदियो। म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ। 

मैले एसएलसीसम्म त्यहाँ पढेँ। र, त्यहीँबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौँ भएँ।

हाम्रो स्कुलबाट अरू दुई जना साथी पनि बोर्ड आएका थिए । छैठौ स्वानमा विश्वम्भर चित्रकार र सातौँमा कृष्णबहादुर नापित ।

मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ त्यही स्कुलको वातावरण हो। त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।

आज तपाईँहरूको रिजल्ट जस्तो आए पनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन् । अगाडी बढ्नुहोला । हार्दिक शुभकामना।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ