arrow

ढल्नमात्रै बाँकी गण्डक नहरका पुलहरु, त्रासमा स्थानीय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
gandak-nahar-bridge.jpg

पर्सा । पर्सा जिल्लास्थित गण्डक नहर अन्तर्गतका पुलहरु जीर्ण अवस्थामा पुगेका छन् । नेपाल–भारत गण्डक सम्झौता अन्तर्गत निर्माण भएका ४५ वर्ष भन्दा पुराना पुलहरु क्षतिग्रस्त अवस्थामा पुगेका हुन् । 

केही दिनअघि आएको हावाहुरी र बाढीले त झन् उक्त पुलमा झनै क्षति पुर्याएको छ तर यस्तो अवस्थामा पनि ठूला सवारीसाधनसमेत निर्वाध आवतजावत गरिरहेका छन् । यसले पुल भासिएर जुनसुकै बेला पनि खस्नसक्ने अवस्था देखिएको छ । 

पर्साको वीरगञ्जस्थित गण्डक चोकबाट पश्चिमतिर जाँदा पुगिने बहुदरमाई नगरपालिकाको तिलावे नदीमाथि रहेको पुल हो यो । १३० मिटर लम्बाइ भएको उक्त पुलमा १२ वटा स्तम्भ छ । त्यसमध्येको चौथो केही दिनअघिको हावाहुरी र बाढीका कारण चर्किएको हो । 

स्थानीय चन्दन यादवका एउटा १३० मिटरको पुलमा १२ वटा पिलर हुँदा एउटा पिलरले एकातर्फ मात्रै ११ मिटरको भार थाम्छ, दुईतिर गरी झण्डै २२ मिटरको भारलाई थाम्ने उक्त पिलर भत्किने अवस्थामा पुगेपछि यो क्षेत्र धेरै जोखिमपूर्ण मानिएएको छ । यो पिलर भत्किए एकैपटक २ वटा गाडी पुलमुनि खस्नसक्ने अवस्था रहेको यादव बताउँछन् ।

किन मर्मत हुँदैन पुल ? 

यो पुल जलस्रोत तथा सिँचाई विभाग अन्तर्गत नारायणी सिँचाई व्यवस्थापन कार्यालय अन्तर्गत पर्छ । नेपाल–भारत गण्डक नहर सम्झौता हुँदा ५० वर्षका लागि भनेर बनाइएको उक्त पुलको आयु सकिन अब करिब ५ वर्ष मात्रै बाँकी छ । त्यसपछि नयाँ पुल बनाउनुपर्ने अवस्था भएकोमा यसको संरक्षण र मर्मतका लागि अहिले बजेट छैन । 

कार्यालयका प्रमुख मनोरञ्जन कुमार सिंहका अनुसार नयाँ निर्माण गर्ने समय समेत भइनसकेकोले अहिले यो आयोजनामा बजेट परेको छैन । आगामी वर्षहरुमा पुल सम्भाव्यता अध्ययन, डिजाइन लगायत विषयहरु तयार गरेपछि मात्रै नयाँ पुल निर्माण हुन सक्छ, त्यसका लागि केन्द्रिय स्तरबाट बजेट विनियोजन हुनुपर्छ, तर यसवर्ष यसमा बजेट छैन । 

यो क्षेत्रमा मात्रै अहिले तीनवटा पुलहरु छन् । तीमध्ये तीनवटै पुल जीर्ण अवस्थामा पुगिसकेका छन् । कार्यालय प्रमुख सिंहले पुल भत्किएकोबारे अहिलेसम्म कार्यालयमा जानकारी नआएकोले यो विषयमा जानकार नभएको बताए । तर, तत्कालै प्राविधिक जनशक्तिलाई पठाएर पुलको अवस्थाबारे हेर्न लगाउने उनले बताए ।

‘एउटा पिल्लर त पूरै क्र्याक भइसकेको रहेछ । अहिलेसम्म जानकारीमा थिएन, तत्कालै प्राविधिक कर्मचारीलाई पठाउँछु, आवतजावत गर्न नमिल्ने अवस्था भए सवारी साधन बन्द गर्नुपर्ने हुन पनि सक्छ,’ सिंहले भने । यो पुलबाट दैनिक सयौं मालबाहक सवारी, रिक्सा, टाँगा र मानिसहरुको समेत आवतजावत हुँदै आएको छ । पुल क्षतिग्रस्त हुँदा समेत जोखिमपूर्ण यात्रा गरिरहेका सर्वसाधारणहरु पुल बन्द भएको अवस्थामा झनै समस्यामा पर्ने देखिएको छ । 

चालु आर्थिक वर्षका भौतिक पूर्वाधार मन्त्रालयले एउटै निर्वाचन क्षेत्रमा झण्डै १० अर्बको परियोजना पारेको देखिन्छ । तर, अत्यावश्यक मर्मतको माग भइरहेका यस्ता क्षेत्रमा भने सरकारको कुनै पनि बजेट परेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ