arrow

बटुकलाई भोजन खुवाएर शान्तिनायक कोइरालाको सम्झना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
sharada-poudel-kaski.jpg

पोखरा । नेपाली आन्दोलनका युग पुरुष, नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका शान्ति नायक, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइयो ।

कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन कास्कीले पनि बटुकलाई भोजन र प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

फाउण्डेसनले पोखरा महानगरपालिका वडा नं. १८ स्थित पोखरा चिसाखोला वेद विद्याश्रका वटुकलाई भोजन खुवाएको हो । साथै प्रवचन कार्यक्रमसमेत गरेर कोइरालाको स्मरण गरिएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा फाउण्डेसनका प्रदेश संयोजक शारदा पौडेलले नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको चर्चा गरिन् ।

उनले भनिन्, ‘यदि सो समयमा कोइरालाले योगदान नदिएको भए मुलुक यो अवस्थामा आउँदैनथ्यो ।’ उनले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाबाबुको नेतृत्वमा सुरु गरिएकाले त्यसलाई पूर्णता दिने विषयमा दलहरु एकठाउँमा उभिनुपर्नेमा पौडेलले जोड दिइन् ।

फाउण्डेसनका जिल्ला संयोजक विजयराज आचार्यले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाबाबुप्रति उचित सम्मान हुने स्पष्ट पारे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला गर्न हुँदैन बताए ।

कार्यक्रममा विद्याश्रमका अध्यक्ष पं.मोक्षनाथ तिमिल्सिना, नेपाली कांग्रेस नेता फणीन्द्रराज पराजुली, फाउन्डेसनका सदस्य शिवराज बास्तोला, सचिव सुवास सिग्देललगायतले कोइरालाको भूमिकलाई कसैले पनि नजरअन्दाज गर्न नहुने र कांग्रेसका नेताहरुले पनि उहाँको जीवनीबाट पाठ सिक्नुपर्नेमा जोड दिएका थिए ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चार पटक प्रधानमन्त्री भएका थिए ।

विसं २००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहेका थिए । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ