arrow

प्रदेशमा माओवादीको सहकार्य तोड्दै एमाले, लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
ncp-uml-maoist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेले संघीय सरकारबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि त्यसको असर प्रदेशमा पनि परेको छ । 

नयाँ सत्ता समीकरण बन्ने भएसँगै एमालेले लुम्बिनी प्रदेश सरकार र सुदूरपश्चिम सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ । 

बिहीबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेश सभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाएका हुन् ।

लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । 

लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानूनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।

गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । 

जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका छन् ।

केन्द्रमा कांग्रेससँग भएको सहमति अनुसार अब लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने भएको छ ।

त्यस्तै एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।

योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी हाल एकीकृत समाजवादीको महाधिवेशनका लागि काठमाडौँमा रहेका छन् । उनी काठमाडौँ आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।

एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ