arrow

दुई रुपैयाँ कमाउने रिलायन्सले ८२० रुपैयाँमा शेयर बेच्न लागेपछि लेखा समितिको चासो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
reliance-spinning-mills-ltd.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चालु आर्थिक वर्षमा दुई रुपैयाँ कमाइ गर्ने प्रक्षेपण गरेको रिलायन्स स्पिनिङ मिललाई ८२० रुपैयाँमा शेयर बेच्न लागेपछि संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले मंगलबार धितोपत्र बोर्डलाई पत्र लेख्दै पाँच बुँदे प्रष्टीकरण सोधेको हो ।

अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आईपीओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै समितिले यसबारे बोर्डलाई विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ ।

लेखा समितिको पत्रमा उक्त कम्पनीले गत आर्थिक वर्षमा ५४ रुपैयाँ ३४ पैसा प्रतिशेयर आम्दानी रहेको उल्लेख गरे पनि एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा झरेको देखिएको भन्दै वित्तीय विवरणमा म्यानुपुलेसन भएको छैन भन्ने आधार के हो भन्ने प्रश्न गरिएको छ । 

त्यस्तै कम्पनीको मूल्य तय गर्ने आधारबारेसमेत समितिले प्रश्न सोधेको छ । यो मूल्य बुक बिल्डिङमा सहभागी संस्थागत लगानीकर्ताहरुको कटअफ मूल्यबाट निर्धारण भएको कम्पनीले बताएको भए पनि बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो भन्ने जवाफसमेत समितिले मागेको छ । 

रिलायन्सले बिहीबारदेखि विदेशमा बस्ने नेपालीका लागि उक्त आईपीओ जारी गर्दैछ । उक्त कम्पनीले प्रतिशेयर ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गर्न भनेको हो । समितिले सात दिने प्रष्टीकरण सोधेको भए पनि आईपीओ निष्कासन स्थगित गर्नेबारे केही उल्लेख गरेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ