arrow

विपद्मा नागरिकको जीवन सहज बनाउन सरकारसँग कांग्रेसको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपद्मा परी धेरै नागरिकले ज्यान गुमाइसकेको भन्दै जीवन सहज बनाउन सरकारसँग आग्रह गरेको छ । 

कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न आग्रह गरेको हो । 

उसले सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसले ठूलो संख्यामा नागरिकहरु घाइते भएको, कतिपय अझै बेपत्ता भएको, धेरैको संख्यामा विस्थापित हुन पुगेको, खेतीयोग्य जमीनमा क्षति पुगेको, देशभरकै सडक सञ्जाल अवरुद्ध भएको र यात्रुहरु अलपत्र परेको भन्दै यसबाट उत्पन्न परिस्थितिले  नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

उसले भनेको छ, 'प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ । प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ