arrow

एमालेको निष्कर्ष- सरकार संविधानको धारा ७६(२) अनुसार नै गठन हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
uml-cpn.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकले संविधानअनुसार धारा ७६(२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटकपटक सरकार बन्नसक्ने प्रष्ट पारिसकेको अवस्थामा अब बन्ने सरकार पनि संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष रहेको बताए । 

“संविधानको धारा ७६ (२) अनुसार गठन हुने नयाँ सरकारमा कुनै पनि संवैधानिक जटिलता छैन र २०७८ सालमा पनि संविधानको धारा ७६ (२) अनुसार बनेको तत्कालीन केपी शर्मा ओलीको सरकारले पनि विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले फेरि ७६ (२) अनुसार नै सरकार बनाउन दललाई आह्वान गर्नुभएको थियो”, उपमहासचिव ज्ञवालीले भने, “अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनका लागि आह्वान हुन्छ । स्थिर र बलियो सरकार नबनुञ्जेल सोही धाराबाट नै सरकार गठन हुनेमा एमालेमा कुनै द्विविधा छैन ।” 

नेपाली कांग्रेससँगको सहमतिपछि संविधान संशोधनका कुरा उठे पनि कुनकुन बुँदामा संशोधन गर्ने भन्ने कुरा स्पष्ट नभइसकेको भन्नुहुँदै उपमहासचिव ज्ञवालीले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्ने सकिने र संविधान जारी भएको १० वर्ष भएकाले पुनरावलोकन गर्न आवश्यक रहेको समेत बताए । “संविधानका केही दफाले राजनीतिक स्थायित्व, बलियो र स्थिर सरकार बनाउनका निम्ति अप्ठ्यारो भएको छ । 

प्रदेश सरकार सञ्चालन थप समस्या छ । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ”, उनले भने, “सुशासन र राजनीतिक स्थायित्वका निम्ति यदि संविधानका कुनै प्रावधान संशोधन गर्नुपरेमा सबै राजनीतिक दलको सहमति लिएर अगाडि बढ्छौँ ।” उपमहासचिव ज्ञवालीले एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने दललाई हैसियतअनुसार समेट्न सकारात्मक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ