arrow

एमालेले मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरेन, आकांक्षा धेरैको, तजबिजी ओलीको

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
uml-cpn.jpg

काठमाडौँ । कांग्रेस-एमालेको सहकार्यमा नयाँ सरकार बन्ने अघिल्लो दिनसम्म पनि मन्त्रीहरुको सूची तयार हुन सकेको छैन । सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पनि मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन । 

एमालेले नयाँ र पुराना गरी मिलाएर सरकारमा पठाउने तयारी गरेको छ । तर को-को हुन् ती व्यक्तिहरु भन्ने अझै सार्वजनिक नगरी राखेको छ ।

एमालेले पार्टी अध्यक्ष एवं अबका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री छान्ने जिम्मेवारी दिइसकेको छ । खासगरी मधेसी महिला, जनजाति र दलितमा एमालेले एक जनालाई पठाउने तयारी गरेको छ । 

दलितबाट छविलाल विश्वकर्माको नाम टुंगो लागे पनि दोलखाका ईश्वरी रिजालले अवरोध गरिरहेका छन् । यदि दलितबाट मन्त्री बन्ने भएमा निर्वाचित सांसदसमेत रहेका  विश्वकर्मा नै हुने बताइएको छ । 

यसैगरी अर्थमन्त्रीमा विष्णु पौडेललाई अघि सार्ने र यदि पौडेल जान नमानेमा डा युवराज खतिवडा वा सुरेन्द्र पाण्डेमध्ये एक जनालाई लैजाने र ६ महिनाका लागि अर्थमन्त्री बनाउने तयारी रहेको स्रोतको दाबी छ । 

यसैगरी सूचना तथा सञ्चार मन्त्रालयमा भने योगेश भट्टराईलाई पठाउने तयारी रहेको छ । यद्यपि भीम आचार्यले पनि रहर गरेका कारण यसमा पनि समस्या रहेको बताइएको छ । 

भूगोल, महिला, जनजाति र दलितलाई प्राथमिकतामा राखिएको बताइएको छ । 

महिलाबाट भगवती चौधरी, जुली महतो, विद्या भट्टराई, राष्ट्रिय सभामा रहेकी भगवती न्यौपानेको पनि चर्चा रहेको छ । 

पुरानो टिमबाट पदम गिरी र दामोदर भण्डारी दोहोरिन सक्ने संभावना रहेको छ । 

नयाँबाट यसपटक पृथ्वी सुब्बा गुरुङको संभावना रहेको छ । काठमाडौँबाट चुनाव जित्ने एकमात्र व्यक्ति कृष्णगोपाल श्रेष्ठ पनि यसपटक मन्त्रीको प्रमुख दावेदार हुन् ।

‘ओलीले कसलाई छान्छन् भन्ने हो मन्त्री बन्ने चाहना सबैको हुन्छ’, एमालेका एक पदाधिकारीले भने । 

यसपटक एमालेका प्रभावशाली नेताहरु महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, उपमहासचिव प्रदीप ज्ञवाली, पद्या अर्याल मन्त्रीबाट बाहिर रहने भएका छन् । 

उता मुख्यमन्त्री हुन नपाएका खगराज अधिकारी पनि संघीय सरकारमा आउने प्रणालीबाटै बाहिर रहे । ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्ति गरिने तयारी भएको छ ।

उनले आइतबार दिउँसो शपथ खानेछन् । 

उता कांग्रेसले पनि अहिलेसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ