arrow

प्रशान्त महासागरमा संयुक्त सैन्य गस्ती गर्दै चीन र रुस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
quad-indo-pacific.PNG

काठमाडौँ । चीन र रुसले उत्तरी र पश्चिमी प्रशान्त क्षेत्रमा संयुक्त नौसैनिक गस्ती गर्ने बेइजिङको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले उक्त अभ्यास कुनै अन्य मुलुकप्रति ‘लक्षित’ थिएन भनेको छ ।

हालैका वर्षहरूमा दुवै मुलुक नजिक भएका छन् र उनीहरूको मित्रतालाई ‘सीमाहीन’ भनेका छन् । दुवै मुलुकको अमेरिकी नेतृत्वको पश्चिमी रक्षा गठबन्धन नाटोसँग शत्रुतापूर्ण सम्बन्ध छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणको सुरुआतपछि बेइजिङले मस्कोसँग आफ्नो कूटनीतिक, आर्थिक र सैन्य सम्बन्धलाई थप बलियो बनाएको छ ।

युक्रेनमाथि रुसी आक्रमणको कहिल्यै निन्दा नगरेको चीनले द्वन्द्वमा आफू तटस्थ पक्ष रहेको बताउँछ । यद्यपि पश्चिमी नेताहरूले रुसलाई राजनीतिक र आर्थिक समर्थन दिएको भन्दै चीनको आलोचना गरेका छन् । यसमा नागरिक र सैन्य दुवै प्रयोग हुने सामानको व्यापार पनि समावेश छ । 

“चीन र रुसबीच वार्षिक योजना र सहमतिअनुसार दुई मुलुकका नौसैनिक जहाजहरूले हालै पश्चिमी र उत्तरी प्रशान्त महासागरमा आफ्नो चौथो संयुक्त सामुद्रिक गस्ती गरेका छन्”, चिनियाँ रक्षा मन्त्रालयले आइतबार विज्ञप्तिमा भनेको छ, “यो अपरेसन कुनै पनि तेस्रो पक्षप्रति लक्षित छैन र वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय अवस्थासँग यसको कुनै सरोकार छैन ।”

प्रशान्त युद्धाभ्यासमा जहाजहरूको मार्ग, उनीहरूको सही स्थान वा संलग्न सेनाहरूको प्रकृतिसहित कुनै विवरण प्रदान गरिएको छैन । 

शुक्रबार चीनले उसको दक्षिणी तटमा रुससँग पनि संयुक्त सागर–२०२४ नामको अभ्यास गरिरहेको बताएको छ । नाटो नेताहरूले बेइजिङ युक्रेनमा मस्कोको युद्धको ‘निर्णायक समर्थक बनेको’ घोषणा गरेपछि र जापानले मस्कोसँग बेइजिङको बलियो सम्बन्धबाट बढ्दो खतराको चेतावनी दिएपछि संयुक्त सैन्य अभ्यास भएको हो । बेइजिङले ती आलोचनालाई अस्वीकार गरेको छ । 

‘सामुद्रिक सुरक्षा खतरालाई संयुक्तरूपमा सम्बोधन गर्न र वैश्विक तथा क्षेत्रीय शान्ति र स्थिरतालाई संरक्षण गर्न दुवै पक्षको सङ्कल्प र क्षमताहरूलाई प्रदर्शन गर्न’ दक्षिणी गुआङडोङ प्रान्तस्थित झानजियाङ सहरको वरपर जल र हवाई क्षेत्रमा अभ्यास गरिएको मन्त्रालयले बताएको छ । 

रुसी रक्षा मन्त्रालयले शनिबार उसका दुई युद्धपोत संयुक्त नौसैनिक अभ्यासमा भाग लिन झानजियाङ पुगेको बताएको थियो । 

युरोपियन युनियन इन्स्टिच्युट फर सिक्योरिटी स्टडिजले जुलाईको प्रारम्भमा एक रिपोर्टमा चीन र रुसले नियमितरूपमा संयुक्त सैन्य अभ्यास गर्ने गरेको तर उनीहरूको अन्तरसञ्चालन क्षमता स्तर नाटोभन्दा धेरै कम रहेको बताएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ