arrow

धादिङलाई कांग्रेसले दिएको पहिलो ‘क्याबिनेट’ सदस्य रामनाथ अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
ramnath-adhikari-81-3-31-pa.jpg

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट धादिङ जिल्लाले पहिलोपटक क्याबिनेट सदस्य पाएको छ । धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद रामनाथ अधिकारी कृषि तथा पशुपन्छी मन्त्री बन्न सफल भएका हुन् ।

२०१८ साल भदौमा धादिङको नेवारपानीमा जन्मिएका अधिकारी नेपाली कांग्रेस धादिङका जिल्ला सभापति हुन् । पार्टीको मूल राजनीतिबाटै उदाएका उनी २०३६ सालको जनमत संग्रह र त्यसपछिका सबै राजनीतिक परिवर्तनमा सहभागी भएका थिए । उनी गिरिजाप्रसाद कोइरालाकै निकट व्यक्ति मानिन्थे । 

२०५६ सालको संसदीय निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट निर्वाचित उनी पहिलो कार्यकालमै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेका थिए । 

उनी यसअघि दुई पटकसम्म जिल्ला सभापति भएका थिए । लगातार २ पटकभन्दा बढी सभापति प्रतिस्पर्धा गर्न नपाउने व्यवस्थापछि उनले एक कार्यकाल सभापति छाडेका थिए । 

२०६४ र २०७० सालको निर्वाचनमा टिकट पाएर पनि पराजित भएका उनले २०७४ सालमा भने संसदीय निर्वाचनमा टिकट नै पाएनन् । २०७४ सालमा कांग्रेसका दिलमान पाख्रिनले उक्त क्षेत्रबाट टिकट पाएर पराजित भएका थिए । यसपटक भने अधिकारीले टिकट पाएर जित्न सफल भएका हुन् । 

कांग्रेसमा संस्थापन पक्षइतर मानिने उनी अहिले शेखर–गगन समूह निकट मानिन्छन् । कोइरालाकै सिफारिसमा अधिकारीले यसपटक मन्त्री पाएका हुन् । 

योसँगै कांग्रेसका तर्फबाट धादिङले पहिलो ‘क्याबिनेट सदस्य’ पाएको छ । यसअघि दिलमान पाख्रिन कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री भएका थिए । 

धादिङले अन्य पार्टीबाट अहिलेसम्म पटक पटक मन्त्री र मुख्यमन्त्री पाइसकेको छ । राजेन्द्र पाण्डे पटक पटक मन्त्री र बाग्मती प्रदेशको मुख्यमन्त्रीसमेत बने । बुद्धिमान तामाङ शाही शासनकाल र त्यसअघिदेखि नै मन्त्री भए । शालिकराम जम्मकट्टेलले प्रदेशको पूर्व अर्थमन्त्री र हालका मुख्यमन्त्री हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ