arrow

साउनमा प्रतिपक्षको किचलोले सरकारी काम प्रभावित, जनता रुष्ट, दुर्घटनाको जोखिम यथावत्, मूल्यवृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
monthly-horoscope.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साउन महिनाको सङ्क्रान्ति मङ्गलबार परेको छ र सूर्यको राशि सङ्क्रमणको समयमा कन्या लग्न, शुक्लपक्षको पञ्चमी तिथि र सिंह राशिको चन्द्रमा रहने छ । 

समग्र ग्रह परिवेश हेर्दा सूर्यले श्रावण महिनाभरि कर्कट राशिमा विचरण गर्नेछन् । यस महिनामा ग्रह परिवेशलाई विश्लेषण गर्दा यो महिना जनतामा आपसी कलह र द्वेषको परिस्थिति सिर्जना हुनेछ । 

कतैकतै युद्ध, महामारी, रोग, अग्निभय, चोरी, डकैती जस्ता घटना भएको समाचार सुन्न पाइने छ । राता चिजबिजको दाम बढ्ने छ । अन्नको अभाव हुनेछ, महँगी ह्वात्तै बढ्न सक्छ । 

घिउ, तेल, बेसार, कपूर, चन्दन, नून, गहुँ र मुसुरोको मूल्यमा वृद्धि हुनेछ । पशुचौपायामा रोगव्याधिको प्रकोप हुनेछ । मोटर, गाडी र विमानादिको दुर्घटनाको जोखिम यथावत् छ । 

पश्चिमी क्षेत्रमा भूकम्प वा भूस्खलनको सङ्केत छ । यो महिनामा समग्रतामा वर्षाको राम्रो सङ्केत देखिन्छ । शेयर बजारमा पनि उतारचढाव आउनेछ । 

महिनाको समाप्तितिर कतैकतै बाढी, पैह्रो र जनधनको नाश हुने घटना हुन सक्छ । महिनाको मध्यभागमा वित्तीय क्षेत्र र शेयर कारोबारमा नचिताएको मन्दी छाउन सक्छ । सरकारको कामले जनता रुष्ट बन्नेछन्, प्रतिपक्षका किचलोले सरकारी काम प्रभावित बन्न सक्छ । 

यो महिनाको ५, ६, ७, १४, १५, १९, २०, २१, २२, २९ र ३० गते वर्षाको योग छ । 

२०८१ साउन महिनाको मासिक राशिफल

मेषः साउन महिना तपाईंले कडा मिहिनेत र परिश्रम गर्ने समय हो । चौथो घरमा सूर्य र राहुको तथा दसौं घरमा मङ्गल र केतुको मिलन हुनु राम्रो होइन । एकातिर घरभित्रै विविध समस्या देखा पर्नेछन् । कुनै बाध्यताको काममा ह्वात्तै आर्थिक भारमा बृद्धि हुने सम्भावना पनि देखिन्छ । काम गर्दा छिटै थाकिन्छ, खिन्नता र डिप्रेसन बढ्ने सङ्केत छ, कार्य क्षमतामा कमी आउने छ । घरका बृद्ध सदस्यको स्वास्थ्यस्थितिमा उतारचढाव आउने छ । दुर्घटनाको जोखिम भएकाले सवारीसाधन हाँक्दा र बाटो काट्दा सचेत हुनुपर्छ । तर राशिस्वामी उच्चगृहमा रहेकाले यसको प्रभावले लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुहरु पराजित हुनेछन् । आत्मबल, सामथ्र्य बढ्नेछ । पराक्रम र प्रशिद्धिमा वृद्धि हुनेछ । पारिवारिक जीवन सुखद् रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माँझको सम्बन्ध सुदृढ हुनेछ । विशेष गरि आफ्ना दाजुभाइसँग मिलेर सहकार्य गर्नुभएमा लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नति प्रगतिको अवसर मिल्नेछ । आध्यात्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवन साथीसँगको सम्बन्ध मिश्रत रहने छ । मित्रको भावना र इच्छा बुझ्ने प्रयास गर्नु ठीक हुन्छ । धन स्थानमा शुक्रको प्रभावले व्यापार व्यावसायमा सफलता मिल्नेछ । तपाइँको बोलीको प्रभावसमेत वृद्धि हुनेछ । खासगरी तपाईंले यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईंले बढी सतर्कता अपनाएको जाति हुन्छ । यो महिना तपाईका लागि शुभ अंक ९, शुभ बार बिहीबार, शुभ रंग रातो र शुभ दिशा उत्तर हुनेछ । यस महिनामा कुनै अशुभता नहोस् भन्ने उद्देश्यले तपाईंले भगवान् शिव वा चन्द्रमाको उपासना गर्नु जाति हुनेछ ।


वृषः यो महिना तृतीय भावमा रहेको सूर्यको प्रभावले पारिवारिक जीवन सुखद् रहनेछ । बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुनसक्छन् । घुमघाम र भ्रमणमा समय बित्नेछ । ससाना यात्रा फलदायी हुनेछन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । आपसी सम्बन्ध सुदृढ बन्नेछ । चौथो र पाँचौं भावमा रहने राशिस्वामी शुक्रको प्रभावले यो महिना बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिवृद्धि हुनेछ र आम्दानीका मार्गहरू बढ्ने छन् । आमा वा कुनै बृद्ध स्त्रीबाट पूर्ण सहयोग प्राप्त हुनेछ । परोपकार र जनकल्याणको भावना विकसित हुनेछ । महिनाको उत्तरार्द्धमा पठनपाठनमा प्रगति हुनेछ, कुनै सृजनात्मक काम गर्नाले प्रतिष्ठा प्राप्त हुनेछ र सम्मानमा अभिबृद्धि हुनेछ । यात्राबाट लाभ मिल्नेछ, महत्वपूर्ण कार्य सिद्ध हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । पारिवारिक जीवन हर्षाेल्लासपूर्ण रहनेछ । परिवारमा कुनै माङ्गलिक कृत्य सम्पन्न हुनसक्छ । प्रेम तथा पारिवारिक जीवन सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्य सुख बढ्ने छ, साथीभाइ र मित्र वर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सूर्यको गोचर तृतीय भावमा छ यसले तपाईको आँट साहस तथा पराक्रम बलियो हुनेछ । यसैगरी दाजुभाइसँग कतिपय विषयमा विवाद भने पर्न सक्छ । बाहन तथा मातृ सुखमा वृद्धि हुनेछ । व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय छ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । यो महिना तपाईलाई हृदय र पेटसम्बन्धी स्वास्थ्य समस्या आइलाग्न सक्छ । प्रेम सम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । यो महिना घमण्ड र जिद्दीपना बढ्ने समय हो, त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइन सक्छ, सजग रहनुहोला । सामान्यतया यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८, गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ दिशा दक्षिण र शुभ रंग सेतो हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पूजा आराधना गर्नु शुभ हुनेछ ।

मिथुनः यो महिनामा दोस्रो भावमा रहेको सूर्यले शुभफल प्रदान गर्दैन । उता राशिस्वामी बुध बक्री रहनाले सकारात्मक सङ्केत प्राप्त हुन सक्दैन । त्यसैले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आर्थिक दृष्टिले पनि यो समय सकारात्मक रहने छैन, कुनै ठूलो आर्थिक व्ययभार बढ्न सक्छ । सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । यद्यपि राशिस्वामी बुधको प्रभावले केही राहत मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । भ्रमणबाट लाभ मिल्नेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । धनस्थानमा नै राहु ग्रहसमेत बसेकाले दैनिकी सञ्चालनका क्रममा धन सङ्ग्रहमा कठिनाइ हुनेछ । साथै व्यापार व्यावसायबाट राम्रो मुनाफा आर्जन हुनेछ । जग्गा जमिन वा बाहन जोड्न सकिने महिना रहको छ । कमिशनमा आधारित भएर गरिने कामबाट राम्रो आर्जन हुनेछ । सुन्दरतासँग सम्बन्धित वस्तु तथा सेवाको कारोबारबाट राम्रो फाईदा हुनेछ । कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक एवं राजीनितिक क्षेत्रमा तपाईको सक्रियता बढ्नेछ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । सरकारी काम वा उच्च अधिकारीसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । बिद्यार्थीले आफ्नो पढाईमा सुधारका लागि प्रयास गर्ने राम्रो समय छ । प्रतिस्पर्धात्मक परीक्षामा समेत सफलता प्राप्त हुने योग छ । । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले अब एक महिनासम्म मुखलाई नियन्त्रणमा राख्नु उत्तम हुन्छ । यो महिना अष्टम भावमा शनिको गोचरका कारण मानसिक तनाव, टाउको, पेट तथा खुट्टा सम्बन्धित स्वास्थ्य समस्याले सताउन सक्छ, सचेत रहनुहोला । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईंका लागि शुभ रंग हरियो, शुभ अंक ५, शुभ बार शुक्रबार र शुभ दिशा पश्चिम रहनेछ । यो महिनामा शुभफल प्राप्ति होस् भन्ने उद्देश्यले तपाईंले माता सरस्वतीको उपासना गर्ने वा हरियो पन्ना रत्न धारण गर्नु बेस हुनेछ ।

कर्कटः यो महिनामा सामान्यतया सकारात्मक परिणाम प्रदान गर्ने समय आएको छ, यस अवधिमा तपाईं धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मवारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । द्वितीय भावमा रहेको राशिस्वामी चन्द्रमाका साथमा महिनाको प्रारम्भ भएको हुँदा भाग्यबल बढ्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । तर प्रणय र प्रेमका लागि यो समय राम्रो होइन । प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य जीवनमा झैझगडा र किचलोको सम्भावना छ । आफ्नै राशिमा राहुको उपस्थिति भएकाले अचानक खर्च बढ्ने सङ्केत छ । भ्रम र शङ्का हानिकारक बन्नसक्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा अङ्कुश लगाउनु राम्रो हुनेछ । मौसमी रोगको प्रभाव पर्नसक्छ, सानातिना रोगले सताउन सक्छ । यसैगरी यो महिनामा तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । विरोधीले तपाईलाई चुनौतीहरु दिइरहनेछन । आफ्नो कार्यमा पुरा ध्यान दिनु आवश्यक छ । काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । तपाईको प्रेम सम्बन्ध यो महिना सुमधुर रहनेछ । एक अर्कालाई प्रेरणा दिएर उत्साहित वातावरण बन्ने छ । जीवन साथीका माध्यमबाट भाग्यवृद्धि हुने महिना छ । कुनै योजना बनाँउदा एक आपसमा राम्रो छलफल गर्न आवश्यक देखिन्छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्नुपर्छ, सफलताले तपाईलाई पछ्याउनेछ । स्वास्थ्यस्थिति सामान्य रहनेछ । मोटोपन बढ्ने समस्या हुन सक्छ । आफ्नो खानपान र व्यायाम मा उचित ध्यान दिनुहोला । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि हानिकारक बन्न सक्छन् । यो महिना तपाईका लागि शुभ रंग सेतो र गुलाबी, शुभ बार सोमबार, शुभ अंक २ र शुभ दिशा पूर्व हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि बिहीबारका दिन पारेर आफ्ना गुरु एवं ज्येष्ठ नागरिकको सेवा र सम्मान गर्नु शुभ हुनेछ । साथै यस महिनालाई अझ उत्कृष्ट बनाउन सूर्य ग्रह र नाग देवताको पूजाआजामा ध्यान दिनु राम्रो हुनेछ ।

सिंहः श्रावण महिनामा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गरी अघि बढ्नु जायज हुनेछ । बाह्रौं भावमा राशिस्वामी सूर्यको उपस्थिति भएकाले गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुने छैन । एकापसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । पञ्चमेश मङ्गल छैठौं भावमा रहनु र भाग्येश बृहस्पति सातौं घरमा रहनु शुभताको सङ्केत हो । परिस्थिति विपक्षमा रहे पनि यस समयमा सुखभोग गर्न पाइने छ । पेशागत र व्यवसायिक परिस्थतिमा परिश्रमबमोजिम सुधार आउने छ । धनसम्पत्तिको लाभ हुनेछ । समग्रमा नराम्रो समय छैन, यद्यपि बाटो काट्दा र वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ । यस्तै, यो महिना तपाईलाई कार्यक्षेत्रमा हाकिम वा बोसबाट दुव्र्यवहार हुन सक्नेछ । सजग रहनु होला । महिला सहकर्मी साथीबाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसायमा मिश्रित फल प्राप्त हुनेछ । यस अवधिमा खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेले उन्नति प्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय छ । गुप्तरुपबाट धनलाभ हुने योग छ । तपाईको पैसा कतै फसेको छ भने यो महिना सकारात्मक प्रयास गर्नु भएमा फिर्ता हुने योग छ । घरपरिवारमा सकारात्मक वातावरण बन्ने छ । विशेषगरि मातृपक्षबाट फाईदा हुनेछ । यो महिना प्रेमसम्बन्धमा भने समस्या आउन सक्ने योग छ । आरोप प्रत्यारोपबाट तनाव बढ्न सक्छ । विवादित विषयमा एक आपसमा खुला रुपमा कुरा गर्नु आवश्यक देखिन्छ । सप्तम भावमा पाप कर्तरी योगका कारण पतीपत्नी बिचको सम्बन्धमा तालमेलको समस्या देखिन सक्छ, सचेत रहनुहोला । तपाईको धनसम्पति नाश र ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्नेछ । त्यस्तै नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकापसमा तनाव उत्पन्न हुनसक्छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । विशेषगरी यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईका लागि शुभ अंक १, शुभ रंग रातो र गुलाबी, शुभ बार आईतबार र शुभ दिशा पूर्व हुनेछ । सूर्यको दुष्परिणाम शान्त तुल्याउन तपाईंले यस महिनामा पिता वा बृद्ध अभिभावकको आशीर्वचन ग्रहण गर्ने र असहाय बृद्धबृद्धाको सेवाभावमा समय र धन व्यय गर्नु बुद्धिमानी हुनेछ ।

कन्याः राज्यस्थानमा रहेको राशिस्वामी बुध र सूर्यको प्रभावले यो महिना इच्छा र आकांक्षा पूर्ण हुने समय छ । आफ्नो व्यापार÷व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछन् । उच्चकोटिको दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ, प्रणय सम्बन्धका निमित्त राम्रो समय छ । साथीभाइ, इष्टमित्र र नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल, कारोबार, करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि पनि श्रेष्ठ समय छ । लामो यात्रा सुखद् र सफल हुनेछ । तर राशिस्वामी बुध महिनाको अधिकत म समय बक्री रहने भएकाले यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । भोगविलास र मनोरञ्जनात्मक क्षेत्रमा नकारात्मक ऊर्जा हावी भएको समय छ । यसैगरी सरकारको उच्च ओहदाका मानिससँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रशन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि सकारात्मक महिना रहनेछ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध का लागि पनि शुभ समय छ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफलतम् सिद्ध हुनेछ । प्रेम जीवनमा खुशीको वातावरण वन्नेछ । तपाईको मनमा हरदम प्रेमील भावना जागृत हुनेछ । सामान्यतया यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७ र २८ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईका लागि शुभ अंक ५, शुभ रंग सुन्तले, शुभ बार बुधबार शुभ दिशा दक्षिण हुनेछ । यो महिना परिवारमा ज्येष्ठ व्यक्तिको स्वास्थ्य समस्याले केही तनाव र खर्च बढ्न सक्नेछ । साथै यस महिनालाई अझ शुभ बनाउन तपाईंले मातृशक्तिको उपासना गर्नु राम्रो हुन्छ ।

तुलाः श्रावण महिनामा अत्यन्त क्रियाशील र व्यस्त रहने अनि कर्मक्षेत्रको परीक्षणको समय हो, यो साउन महिना । आत्मविश्वासको मात्रा बढ्ने छ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । आम्दानीको मात्रा बढ्ने छ । अधिकतम आर्थिक समस्या हल हुन सक्छन् । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । तर चौथो भावमा बसेको मङ्गल र केतुको युतिसम्बन्धले मानसिक उल्झन र तनावबाट गुज्रने परिस्थिति आउने छ । दाजुभाइसँगको सम्बन्धमा चिसोपन देखिने छ । गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ । यस्तै यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने समय हो । सरकारी क्षेत्रसँग सम्बन्धित कार्यमा तपाईलाई सफलता मिल्नेछ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय छ । प्रेम सम्बन्ध भने उतारचढाब आउन सक्नेछ । विशेषगरि शुक्रको गोचर अष्टम भावमा हुनाले खराब वास्ना मनमा आउन सक्नेछ । तपाईको लगाव आफ्नो प्रमी वा जीवन साथीदेखि बाहेकका व्यक्तिसँग रहन छ । तपाईलाई दुव्र्यवहारको कुरामा फसाउन सक्छन । सजग रहनु होला । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यो महिना स्वास्थ्य अवस्था हेर्दा तपाईलाई कान तथा घाँटी सम्बन्धि समस्या देखिन सक्छ । स्वास्थ्यप्रति समेत सचेत हुनु राम्रो हुन्छ । माता पिताको स्वास्थ्यमा पनि कमजोरी देख्न सकिनेछ । खासगरी तपाईंले २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते जुनसुकै काममा सचेतता अपनाएको जाति हुन्छ । यो महिना तपाईका लागि शुभ अंक ६, शुभ बार शुक्रबार, शुभ रंग समुन्द्र र सेतो रंग, शुभ दिशा पश्चिम हुनेछ । यस महिनालाई अझ शुभ फलवान् बनाउन तपाईंले मङ्गल कवच, हनुमान् चालिसा वा भगवान् गणेशको कुनै मन्त्र वा स्तुतिको दैनिक पाठ गरेमा राम्रो हुनेछ । 

वृश्चिकः श्रावण महिनामा मिश्रित परिणाम प्राप्त हुने महिना छ । राशिस्वामी मङ्गल तृतीय भावमा रहेकाले सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले समेत राम्रो छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । तर पञ्चमेश बाह्रौं भावमा रहेकाले लामो यात्रा सफल हुनेछैन । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । सन्ततिका काममा खर्चबृद्धि हुनेछ । यो महिना तपाईका लागि सुर्यको गोचर भाग्य स्थानमा हुनेछ । पिता, परिवार को मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आर्थिक अवस्था सबल रहनेछ । पेशा व्यावसाय बाट लाभ हुनेछ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पद्र्धामा सफल भइने छ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर यस भावमा रहेको सूर्यको केही अशुभ फल पनि प्राप्त हुन्छ, जस्तै पिता वा पितातुल्य व्यक्तिको स्वास्थ्यमा बाधा पुर्याउन सक्छ । त्यस्तै परिवारमा भाइबहिनी आदिका कारण कुनै तनाव उत्पन्न हुन सक्छ । प्रेम सम्बन्धमा पनि विभिन्न उतारचढाव आएर तनाव उत्पन्न हुने सम्भावना छ । रिस बढी उठ्ने र आत्मसम्मान मा ठेस पुर्याउने कार्य हुन सक्छ । आफ्नो आवेगलाई नियन्त्रण गर्नु शुभ हुनेछ । राशिस्वामी मंगल पञ्चम भावमा गोचर गर्ने हुनाले धन सम्पती सञ्चित हुनेछ । अचानक धनलाभ हुने सम्भावना छ । सामान्यतया यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईका लागि शुभ बार मंगलबार, शुभ रंग रातो, शुभ दिशा उत्तर र शुभ अंक ९ हुनेछ । यो महिनालाई अझ प्रभावकारी बनाउन तपाईंले कुलदेवताको पूजाआजा वा पितृकर्म गर्दा राम्रो हुनेछ । साथै महिना ग्रहको शुभ प्रभावका लागि पुष्पराज रत्न विधिपूर्वक धारण गर्नु एवं बिहीबारका दिन गरिब दुखीको सेवा गर्नु शुभ हुनेछ ।

धनुः श्रावण महिनामा राम्रो समय छैन । अचानक विविध समस्या देखा पर्न सक्छन् । पारिवारिक र नातागोता भित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । व्यापारमा घाटा हुने वा धनमाल हराउने÷ चोरी हुने सङ्केत छ । तर अत्तालिई हाल्नु पर्दैन, राशिस्वामी बृहस्पति राज्यस्थानमा रहेकाले यो समय राम्ररी नै बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । साथै तपाईलाई हरेक क्षेत्रमा सफलता प्राप्तीका लागि सहयोग हुन सक्छ । तर पनि बृहस्पती लाई राहु र केतुको दृष्टि भएकाले धेरै परिश्रम र दौडधुप पछि मात्र अपेक्षित सफलता प्राप्त हुनेछ । यो महिना तपार्इँका लागि सुर्यको गोचर अष्टम भावमा हुनेछ । यो महिना सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुनसक्छ । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । अनायायसै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन बिरोधीहरू सक्रिय हुनेछन् । सरकार, प्रशासन वा अड्डा अदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्ससँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय हो । त्यस्तै बन्दव्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा अंकुश लगाउनु र विवादबाट जोगिने प्रयास गर्नु वाञ्छनीय हुन्छ । घरायसी सुखसुविधा, अचल सम्पति, वाहनसुख, स्त्रीसुख एवं मित्रहरूको साथ भने प्राप्त हुनेछ । परिवारका सदस्यको पूर्ण सहयोग प्राप्त हुनेछ । स्वास्थ्यस्थितिप्रतिसमेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको राम्रो हुन्छ । सामान्यतया यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गतेका दिन तपाईंले कुनै जोखिमयुक्त काम नगरेको जाति हुन्छ । यो महिना तपाईका लाग शुभ रंग रातो, शुभ दिशा उत्तर, शुभ अंक ३ र शुभ बार बिहिबार रहनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि नियमित हनुमान चालीसा पाठ गर्नु एवं श्रवण गर्नु शुभ हुनेछ । विधिपूर्वक पुष्पराज धारण गर्नु पनि शुभ हुनेछ । साथै तपाईंले दैनिक रूपमा भगवान् गणेशलाई दूबो चढाउनु राम्रो हुन्छ । 

मकरः श्रावण महिनामा राशिस्वामी शनिश्चरको बक्रता र सप्तम भावमा सूर्यको उपस्थिति भएकाले यस समयलाई त्यति बलवान् मान्न सकिंदैन । मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना भएकाले यो महिना एउटा कठिन कालखण्ड हो भन्दा अत्युक्ति हुँदैन । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । साथीभाइ र कामदारले धोका दिन सक्छन्, उता पति वा पत्नीले आफ्ना कुरा नबुझ्नाले पनि अप्ठ्यारोमा पर्न सक्नुहुन्छ, त्यसैले घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । तपाईंको राशिमा मङ्गल र केतुको युतिसम्बन्ध छ, त्यसैले जत्तिवेला पनि गरम मिजास हाबी हुने खतरा हुन्छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । यद्यपि पञ्चमेश बुध सातौं भावमा रहेकाले विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनसक्छ । यस्तै यो महिना तपाईको कार्यक्षेत्रमा सकारात्मक वातावरण कायम हुनेछ । आर्थीक रुपमा पनि यो महिना सकारात्मक महिना रहनेछ । यो महिना तपाईका लागि सूर्यको गोचर सप्तम भावमा हुनेछ । यसको प्रभावले व्यवहारमा कुशलता देखिने समय हुनेछ । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नका लागि राम्रो कारोबार हुने समय हो । कार्यक्षेत्रमा पनि तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । व्यापार र कार्यक्षेत्रमा बढी काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हुनेछ । तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । वैवाहिक जीवनमा देखिएका मतभेद र असन्तुष्टि हटाउने र आपसी सम्बन्धलाई मीठो बनाउने प्रयास गर्नु राम्रो हुन्छ । त्यस्तै कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति बन्नसक्छ, साझेदार, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन। सूर्यको पूर्णदृष्टि शिरमा पर्ने भएकाले महिनाको मध्यभागमा ज्वरोजन्य रोगको प्रभाव देखिन सक्छ। व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । अन्य मानिस सँग निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्न सक्छन् । यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७ र २८ गतेका दिन तपाईंले सतर्क भएर काम गर्ने समय हो । यो महिना तपाईका लागि शुभ रंग निलो, शुभ बार शनिबार, शुभ दिशा दक्षिण र शुभ अंक १ हुनेछ । यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ भने तपाईंले साउन महिनामा एउटा रुद्रीपूजा लगाउनु वा भगवान् शङ्करको उपासना गर्नु लाभदायी रहने छ । 

कुम्भः यो महिना उपयोगी देखिन्छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध सुमधुर रहने छ । पहिले देखिएका प्रायशः समस्याको निराकरण हुनसक्छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । तर पनि राशिस्वामी शनिश्चरको बक्रताका कारण प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुन सक्छन् । मौसमी रोगको प्रकोप छ, खर्चको मात्रामा बृद्धि भइरहन्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । अनियमित र बेठीक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ । समय लाभदायी नै रहे पनि सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ, त्यसैले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । विपरीत परिस्थिति आफ्नो पक्षमा ल्याउन तपाईंले यो महिना राशिस्वामी शनिश्चरको उपासनामा जोड दिनु राम्रो हो । कुम्भ राशिका लागि तुलनात्मक रुपमा यो महिना केही कमजोर देखिएको छ । पेशा व्यावसायमा चुनौतीको सामना गर्न पर्ने देखिन्छ। दशम भावमा मंगलको गोचरले चुनौतीहरु पार लगाउन साहस भने प्रदान गर्नेछ । यो कार्यक्षेत्र वा व्यापार व्यावसायमा सफलताका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । त्यस्तै जग्गाजमीन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । तर पनि प्रतिस्पद्र्धीसित सतर्कता अपनाउने समय छ। त्यसैले कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौँ भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने नियन्त्रण गर्नु आवश्यक छ । राशिस्वामी शनि व्यय भावमा रहेर पाप कर्तरी योग बनाउने भएकाले स्वास्थ्यम समस्या हुन सक्छ । विशेषगरी पेट, लिभर तथा खुट्टा सम्बन्धित समस्याले सताउन सक्छ । आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला । कामको बोझ बढ्ने छ । व्यर्थको काममा फस्ने सम्भावनासमेत छ । विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना तपाईंका लागि शुभ अंक २, शुभ रंग निलो, शुभ दिशा पश्चिम र शुभ बार शुक्रबार हुनेछ भने यो महिना ग्रहको शुभ प्रभावका लागि भगवान सूर्यको पूजा आराधना गर्नु शुभ हुनेछ ।

मीनः श्रावण महिनामा मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । भाग्येश मङ्गल राज्यस्थानमा रहेकाले मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । किनभने तपाईंको राशिस्वामी बृहस्पति अष्टम भावमा देखिन्छ, मस्तिष्कलाई आराम हुनेछैन । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । आफ्नो पेशा व्यावसायमा व्यस्त रहने महिना छ । कामको बोझले थकानको अनुभूती हुन सक्नेछ । तर तृतीय भावमा शुक्रको गोचर रहनाले आफ्ना साथी भाईबाट तपाइलाई भरपुर साथ र सहयोग हुनेछ । लाभ स्थानमा शनीका कारण तपाईका विरोधीहरु चुप लाग्न बाध्य हुनेछन् । सुर्यको गोचर पञ्चम भावमा हुनेछ । तपाईंको कार्यक्षेत्र र व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । विद्यार्थीका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी समय दिनु पनि हानिकारक बन्नसक्छ । यो महिना तपाईंले नियमित आहारविहारको अनुशासन पालना गरेको राम्रो हो, अन्यथा पेट र पाचन प्रणालीका रोगव्याधिले कष्ट दिनेछ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमी बाट सरप्राईज सहयोग र सदभाव कायम हुनेछ । समग्रमा महिना राम्रै छ, यद्यपि यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते अशुभ रहने छन् । यो महिना तपाईका लागि शुभ अंक ३, शुभ बार बिहीबार, शुभ रंग पहेंलो, शुभ दिशा उत्तर हुनेछ । यो महिनामा शुभफलमा बृद्धि गर्न तपाईंले कुलदेवता वा पितृदेवताको उपासना गर्नु राम्रो हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ