arrow

शेयर राजनीति

शेयर बजार अर्थमन्त्रीको अनुहार हेरेर मात्रै बढ्दैछ कि अरु पनि केही छ ? 

मंगलबार एकैदिन ७० अंकको वृद्दि, बजार मनोविज्ञान उच्च 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
nepse-bishnu-poudel-81-3-31.jpg

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से करिब ७० अंकले बढेको छ । सरकार परिवर्तनको हल्लासँगै दुई सातादेखि निरन्तर रुपमा बढिरहेको बजार परिसूचक मंगलबार बढेसँगै सरकार परिवर्तनको लहरमा मात्रै आजसम्म २७० भन्दा धेरै अंकले शेयर बजार बढिसकेको छ । 

बजार परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य रुपमा सुधार आइरहेको छ । मंगलबार मात्रै बजारमा ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो । दुई सातादेखि हरेक दिन ४ अर्ब भन्दा धेरैको कारोबार भइरहेको छ । 

शेयर बजारमा परिसूचक र कारोबार दुवै बढ्नुले बजार मनोविज्ञान उच्च रहेको देखाउँछ । यसले भविष्यमा बजार अझै बढ्ने संकेत गर्छ । तर, बजारको यो मनोविज्ञानको पछाडि अर्थमन्त्री विष्णुप्रसाद पौडेल मात्रै कारण हो कि अरु पनि छ भन्ने प्रश्न भने अहम् छ । 

सोमबार तिनै पौडेलले अर्थमन्त्रीको कुर्सी सम्हाल्न बस्दै गर्दा शेयरले रातो झण्डा देखाएको थियो ।

शेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा फुल्लेल शेयर बजारले पहिलेदेखि नै बुलको तयारी गरिरहेको र अहिलेको सरकार परिवर्तनले यसलाई बढावा दिएको बताउँछन् । पछिल्लोपटक बजार चलायमान हुनुको पछाडी सरकारको जग र अर्थमन्त्रीको व्यक्तित्व दुवैले काम गरिरहेको उनको भनाइ छ । 

‘शेयर बजार धेरै समयदेखि न्यून विन्दुमा थियो । यसले बढ्नुपर्ने आधारहरु पहिलेदेखि नै तयार भएर बसेका थिए । बजारमा ब्याजदर घटेको थियो, बैंकिङ क्षेत्रमा तरलता प्रशस्त थियो । तर, बजारको मनोविज्ञान सकारात्मक बन्न नसक्दा बजारले सुधारको बाटो लिन सकेको थिएन,’ फुल्लेल भन्छन्, ‘अहिले दुई ठूला पार्टी मिलेर बलियो सरकार पनि आयो, शेयर बजारले रुचाएका अर्थमन्त्री पनि आउनुभयो, त्यही भएर बजार बढ्यो ।’

अब सरकार र राष्ट्र बैंकको लाइन समेत मिलेको भन्दै यसले सकारात्मक मौद्रिक नीति आउने अपेक्षा समेत आफूहरुको रहेको उनको भनाइ छ । आगामी मौद्रिक नीतिका लागि शेयर धितोमा लाग्दै आएको १५/२० करोडको सीमा हट्नुपर्ने, शेयर धितोको कर्जाको जोखिम भार १२५ बाट १०० मा झार्नुपर्ने, मार्जिन लेन्डिङको प्रक्रिया र ब्याजदरलाई सहजीकरण गर्नुपर्ने लगायत आफूहरुको माग रहेकोमा यो पूरा हुने आधार समेत बढेको उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ