arrow

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित   

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
cit-81-4-1.jpg

काठमाडौँ । नागरिक लगानी कोषको २९ औँ वार्षिक साधारण सभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष २०७९–८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
 
त्यसैगरी आ.व २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । 

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संशाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । 

बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाइ अगाडि बढिरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै शेयरधनीहरुबाट उठाइएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप पुष्टयाइँ गरे । 

साथै कोषको कारोबारलाई क्रमशः सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गर्दै लगिनेमा उनले जोड दिए ।
   
उनले शेयरधनीहरुको शेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताए । 

आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनश दिने प्रतिबद्धता उनले व्यक्त गरे । कोषको एकीकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकाले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको बताउँदै उनले भने, ‘आगामी वर्षदेखि रिकन्सिलेसन समस्या समाधान हुँदै जाने छ ।’ 

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको कोषले जनाएको छ । 

उक्त अवधिमा कोषले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ । 
 



नयाँ