arrow

मन्त्री राय हत्याको सूक्ष्म अनुसन्धानमा प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
ramchandra-raya-rpp-killed.jpg

काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या घटनाको अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले यस घटनालाई उच्चपदस्थ व्यक्ति हत्या घटनाका रूपमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । 

घटनालगत्तै उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गर्दै स्थानीय प्रहरी प्रशासन टुटिरहेका बेला मंगलबारदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत अनुसन्धान थालेको छ । टोली सोमबार राति मात्र सर्लाही आइपुगेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रयोग भएको भनिएको घरेलु हतियार फरसा फेला परे पनि अहिलेसम्म अन्य ठोस प्रमाण फेला नपरेको उनको भनाइ छ । “अहिलेसम्म घटनाका विषयमा ठोस प्रणाण फेला परेको छैन । हामी निरन्तर अनुसन्धानमा छौँ । प्रहरीको सम्पूर्ण शक्ति यही घटना अनुसन्धानमा जुटेको छ । सीआईबी टोलीले समेत आइपुगेकाले अब चाँडै अनुसन्धान टुङ्गोमा पुग्ने आशा गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भने । 
 
घटनालगत्तै प्रहरीले रायको घरमा सहयोगीका रुपमा काम गर्ने एक युवक र खाना पकाउने एक महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनीहरूको बयानअनुसार घटनामा अन्य तीनजना संलग्न रहेको प्रहरीको आशङ्का छ ।

प्रहरीले घटनास्थललाई पूरै सिल गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । अहिले घटनास्थल चन्द्रनगर गाउँपालिका–१, रतनपुरमा सुरक्षाकर्मी व्यापकमात्रामा परिचालन गरिएका छन् । 

पुख्र्यौंली घर मलङ्गवा नगरपालिका–४, भएका ८० वर्षीय राय धेरैजसो समय परिवारसँगै काठमाडौँ बस्दै आएका थिए। उन एक साताअघि ामात्र धानखेती गर्न रतनपुर पुगेका थिए । सोही क्रममा आइतबार राति फार्म हाउसमा सुतेकै ओछ्यानमा हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो । 

विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा निर्वाचित राय २०६१ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । रायका श्रीमती, दुई छोरा र पाँच छोरी छन् ।

रायको मंगलबार साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो । उनको गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएको थियो । 

रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

यस्तै उनको अन्तिम संस्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रदेश अध्यक्ष भरत गिरी, पूर्वमन्त्री एवं सांसद महेन्द्रराय यादवलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ