नेप्सेमा एक बाहेक सबै वाणिज्य बैङ्कमा पोजेटिभ सर्किट
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
1.6k
Shares
तस्बिर : फाइल
काठमाडौँ। मौद्रिक नीतिको प्रभावले शेयर बजारमा उच्च वृद्धि देखिएको छ। आइतबार शेयर बजार परिसूचक (नेप्से) ११३.४२ अङ्कले बढेको हो। बजारमा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भयो।
आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति शुक्रवार सार्वजनिक भएसँगै त्यसको प्रत्यक्ष प्रभाव आजको शेयर बजारमा परेको हो। आज बजारमा दुई पटकसम्म सर्किट ब्रेकर लागेको थियो।
ओपनिङ सेसनमै झण्डै ३९ अङ्कले बढेको शेयर बजार नियमित कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो। योसँगै २० मिनेटका लागि बन्द भएको कारोबार खुल्ने बित्तिकै फेरि एक मिनेटमै दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि भने शेयर बजार सम्हालियो । करिब १२९ अङ्क बढिसकेको शेयरले योबीचमा झण्डै ८० अङ्कसम्मको करेक्सन लिएको थियो। तर, अन्तिम समयमा शेयर बजार पुनः बढेर यो अवस्थामा पुगेको हो।
१८ वटा बैङ्कमा सकारात्मक सर्किट
शेयर बजारको बैङ्किङ उपसूचकमा १९ वटा वाणिज्य बैङ्कहरू छन्। त्यसमध्ये आज १८ बैङ्कको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कुनै पनि शेयर स्क्रिप एक दिनमा १० प्रतिशत भन्दा धेरैले बढ्दैन। सो अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैङ्क बाहेक सबैले वृद्धिको यो सीमालाई छोएका हुन् । अधिकांश बैङ्कको शेयर मूल्य १० प्रतिशत बढ्दा बैङ्किङ उपसूचक ९.८९ प्रतिशतले बढेको छ।
त्यस्तै, आज उपकार लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, नेपाल इन्फास्ट्रक्चर बैङ्कको शेयरमा समेत सकारात्मक सर्किट लागेको छ।
कुन सूचकको कस्तो अवस्था ?
आजको बजारमा माइक्रो फाइनान्स बाहेक सबै उपसूचक बढेका छन्। त्यसमध्ये बैङ्किङ परिसूचकपछि सबैभन्दा धेरै इन्भेस्टमेन्ट उपसूचक ५.७५ बढेको छ । त्यस्तै, विकास बैङ्क ४.८७ प्रतिशत, जीवन बिमा ४.२४ प्रतिशत, अन्य उपसूचक ३.१९ प्रतिशत वृद्धि भएको छ । अन्य उपसूचक भने ३ प्रतिशत भन्दा कम मात्रै बढेको छ।
आज बजारमा २४१ कम्पनीको शेयर कारोबार भएकोमा १४८ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, ८७ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।