क्यानका महानिर्देशकलाई तत्काल निलम्बन गर्न उदयशमशेर जबराको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
525
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रूपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तीव्रता दिनुपर्ने बताए ।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरू दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो ।
उनले भने, ‘अहिलेको डीजीले राजीनामा दिनुपर्दैन ? अथवा डीजीले राजीनामा दियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डीजीलाई सस्पेन्स गर्नु पर्दैन ? हामीले यो विभिन्न घटनाहरू हुन्छ । हामी सबैले संसदमा बोल्छौँ । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौँ । एयर सेप्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन । ’
सांसद जबराले सरकारले नियामक निकायको रूपमा रहेको सो प्राधिकरणलाई जिम्मेदार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने पनि बताए ।