arrow

शेयर बजारमा ‘प्रोफिट’ बुकिङको लहर, साढे १९ अर्बको कारोबारले के संकेत गर्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । मौद्रिक नीतिको प्रभावस्वरुप आइतबार उच्च रुपमा बढेको शेयरमा ब्रेक लागेको छ । सोमबार शेयर बजार परिसूचक (नेप्से) २०.४६ अंकले घटेर २६६१.०९ अंकमा आइपुगेको हो ।

सरकार परिवर्तनको असर र त्यसपछि राम्रो मौद्रिक नीतिको अपेक्षामा बढ्दै आएको शेयर बजारमा सोमबार नाफा बुक गर्नेहरु हाबी हुँदा शेयर बजार घटेको हो । बजारमा आज फाइनान्स र हाइड्रोपावर बाहेक सबै परिसूचकहरु घटेका छन् । 

कारोबारको पहिलो तीन घण्टासम्म सकारात्मक अवस्थामा रहेको बैंकिङ परिसूचक समेत प्रोफिट बुककै माहोलमा घट्दा समग्र बजार नकारात्मक बन्न पुगेको हो । जबकी आइतबार बैंकिङ परिसूचक झण्डै १० प्रतिशतले बढ्दा समग्र बजार माथि उठेको थियो । 

आजको बजारमा सबैभन्दा रोचक पक्ष चाहिँ कारोबार रकम हो । उच्च मनोबल भएको बजारमा खरिदकर्ता र नाफा बुक गर्न चाहने बिक्रेताबीचको बार्गेनिङ निकै चलेको देखिन्छ । 

आज बजारमा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार ६६० पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार ६८३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी बैंकको २४ लाख ६३ हजार ६९ कित्ता शेयर किनबेच भएको छ । 

आज नेपाल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९.७७ प्रतिशतले बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मुल्य ८.५८ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी आरम्भ लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ८.३५ प्रतिशतले घटेको छ भने बोटलर्स नेपालको शेयर मुल्य ७.९९ प्रतिशतले घटेको छ ।

आजको कारोबार नेप्सेको इतिहासकै सबैभन्दा धेरै कारोबार भएका एकाध दिनहरुमध्ये एक हो । नेप्समा कारोबार रकम २० अर्ब भन्दा माथिसम्म रहेको इतिहास छ । 

परिसूचक घट्दा पनि यो बराबरको कारोबार रकमले बजारमा लगानीकर्ताहरुको मनोविज्ञानलाई प्रष्ट पारेको छ । यो अवस्थाले आजको दिनलाई आइतबारको वृद्धिमा सामान्य करेक्सनको रुपमा हेर्न सकिन्छ । 

यो मनोविज्ञान कायम रहँदा आगामी दिनमा बजार सकारात्मक दिशामा जानसक्ने प्रष्ट संकेत आजको बजारले गरेको देखिन्छ ।
 



नयाँ