- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । शेयर बजारको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । साताको चौथो दिन बुधबार शेयर बजार परिसूचक (नेप्से) मा २१ अर्ब ९१ करोडको कारोबार भएको हो । यो पूँजी बजारको इतिहासकै सबैभन्दा धेरै कारोबार हो ।
यसअघि सबैभन्दा बढी कारोबार भएको रेकर्ड ७८ साल साउन ३१ गतेको थियो । उक्त दिन कुल २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । उक्त दिनभन्दा बुधबार झण्डै ३० करोड बढी कारोबार भएको हो ।
बुधबार बजारमा हिमालयन रिइन्स्योरेन्सको मात्रै ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । त्यस्तै, माउन्टेन इनर्जी नेपालको ४१ करोड, शिवम् सिमेन्टको ४० करोड, नेपाल फाइनान्सको झण्डै ३९ करोड, अपि पावरको झण्डै ३८ करोड तथा साइन रेसुङ्गा बैंकको ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बजारमा नेप्से परिसूचक ६४.२५ अंकले बढ्दा परिसूचक २७६०.९० विन्दुमा पुगेको छ । बुधबार पनि बजारमा निकै उतारचढाव भएको थियो । उतारचढावबीच बढ्दै गएको नेप्से मध्यान्तरतिर २७९० को हाराहारीमा पुगेपछि करेक्सन शुरु भएको थियो ।
बजारमा १२ पटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजामा १९४ वटा कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ भने ७ वटाको मूल्य स्थिर रहेको छ ।
बजारमा बुधबार फाइनान्स परिसूचक चम्किएको छ । उक्त परिसूचक ८.०८ प्रतिशतले बढेको छ । त्यस्तै लगानी उपसूचकमा ६.८९ प्रतिशतको बढोत्तरी देखिएको छ । बजारका सबै १३ वटा उपसूचक बढेका छन् ।