arrow
ADVERTISEMENT

एमालेभित्र कुनै गुट छैन : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
rajib-pahari-samman.jpg

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्तरुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताए ।

‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो । त्यसैले यहाँ कुनै गुटका कुरा कसैले गर्छ भने त्यो गुटको हामीले विरोध गर्नुपर्छ’, उनले भने ।

यस्तो अवस्थामा पनि साँच्चिकै गुटगत गतिविधि गर्ने र मूलधारमा नआउनेलाई पार्टीको शुद्धीकरण आन्दोलनमार्फत त्यस्ता क्रियाकलापलाई पराजित गरिनेसमेत उनले स्पष्ट पारे । प्रदेश अधिवेशनले विभाजनलाई तलतलसम्म पुर्‍याएको भन्दै उनले अब त्यसलाई रोकेर एकमत बनाएर अगाडि बढ्ने बताए ।

‘सबैलाई समेटेर सम्मान गरेर मिसन ८४ मा बहुमतको सरकार स्थापना गर्ने र एक्लै सरकार बनाउने हो’, उनले थपे । एमालेको लोकप्रियता देखेर चारैतिरबाट घेर्ने काम भइरहेको भन्दै उनले घेराबन्दी तोडेर लक्ष्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताए ।

राजनीतिक स्थिरता नहुँदा नेपालमा केही नकारात्मक प्रवृत्ति देखापरेको र जनतामा निराशा छाएको भए पनि राजनीतिक स्थिरतासँगै त्यसको अन्त्य हुने उनको भनाई छ ।

‘राजनीतिक स्थिरता कायम हुने बित्तिकै सबै नकारात्मक प्रवृत्ति अन्त्य हुन्छ, अन्त्य भइसकेपछि त्यसको जगमा उभिएका बनेका नयाँ पार्टी पनि सबै समाप्त हुनेछन्’, उनले भने ।

एकताबद्ध ढंगले अघि बढ्न सक्दा एमाले सबैभन्दा बलियो पार्टी बन्ने उनले ठोकुवा गरे । पार्टीभित्र क्षमतावान व्यक्ति धेरै भएकोले सबै एकैपटकमा नेतृत्वमा पुग्न नसके पनि निरन्तर लागेमा सबैको व्यवस्थापन हुने उनले स्पष्ट पारे ।

एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेको दावी गरे । नयाँ सरकार गठनपश्चात् देशको अर्थतन्त्रले लिएको गतिले त्यसको पुष्टि गर्ने उनको भनाइ थियो ।

पार्टीको निर्णयमा बसेर सामुहिक कार्यमार्फत आगामी निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा एमाले विजयी हुने सुनिश्चत गर्ने उनले स्पष्ट पारे ।

एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका इन्चार्ज राजीव पहारीले नीतिगत तहमा काम गरेर युवालाई नेपालमै बस्न सक्ने वातावरण बनाउने प्रतिबद्दता जनाए । आफूले गर्ने कार्यमा निरन्तर खबरदारी गर्न आग्रह गर्दै उनले संस्थाको लोकप्रियता बढाउन निरन्तर लाग्ने बताए ।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय युवा संघ नेपालको गरिमालाई बचाउन सबैले मिहेनतका साथ काम गर्नुपर्नेमा जोड दिए ।

संघका कास्की अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी इन्चार्ज विकास अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, कास्की सचिव उमेश गुरुङलगायतले बोलेका थिए । सो अवसरमा संघको इन्चार्जको जिम्मेवारी पाएका पूर्वअध्यक्ष राजीव पहारीलाई बधाई ज्ञापन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ