- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीबाट सरकारी पूजा सामग्री सहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विशेष पूजाआजा गरेपछि आज जिल्ला प्रशासन कार्यालयबाट पेटारो बडिमालिकाका लागि निस्केको हो ।
जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।
जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।
पूजा सामग्रीमा दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला अनुसन्धान कार्यालयका रेशम अधिकारीले गरेका छन् ।
पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो । जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारोसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर लागेको छ ।