arrow

कोरोनाले बन्द भएको गड्डाचौकी नाकाको अवरोध गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवको पहलपछि हट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
ramesh-lekhak-81-4-21.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।

गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए । 

कोरोना महामारीको कहरपछि भारतसँग जोडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।

मन्त्री लेखक र राजदूत श्रीवास्तवबीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,” उनले भने । कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपालको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । 

विदेशी पर्यटकलाई गड्डाचौकी नाका हुँदै निर्वाधरुपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाला निकाय र नीजि क्षेत्रले पटक–पटक सरकारसँग माग गर्दैआएका थिए ।

“पर्यटकलाई भारत जान अब सहज गरिएको छ,” प्रमुख भट्टले भने । उनका अनुसार गड्डाचौकी नाका हुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवत जावत गर्न गर्छन् । 

कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ