arrow

धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ्य बनाउँछ : मन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
pradip-poudel-tanahun.jpg

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रूपमा स्वस्थ बनाउने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा सुरु भएको शिव महिमा बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक रूपमा स्वस्थ हुन हरेक मानिस धार्मिक हुनुपर्ने उल्लेख गरे । 

मन्त्री पौडेलले भने, “मानिसलाई दुई किसिमको रोग लाग्छ । एउटा शारीरिक र अर्को मानसिक । आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन् । मानसिक रोगको खासै उपचार छैन । एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन ।”

धर्म स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले धर्मले मानिस स्वस्थ बन्न सक्ने उनको जिकिर थियो । उनले भने, “धार्मिक व्यवहार स्वास्थ्यसँग जोडिएका छन् । धार्मिक मान्छे मानसिक रूपमा स्वस्थ हुन्छ । मानसिक रूपमा स्वस्थ भएको मानिस सुखी हुन्छ ।”

मुक्तिनाथ च्वयनधामले धर्म संस्कृतिको संरक्षण मात्र होइन यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुगेको मन्त्री पौडेलको भनाइ थियो । उनले हरेक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । 

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए। स्वास्थ्य क्षेत्र पद्धतिबाट नचलेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने बताए ।

नेपालमा पर्याप्त अस्पताल भए पनि राम्रोसँग सेवा प्रवाह हुन नसकेकाले अस्पतालको सेवा सुविधा गुणस्तरीय बनाउनेतर्फ सरकारको ध्यान रहने बताए । 

संविधानसभा सदस्य आशा कोइरालाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन आवश्यक रहेको बताइन् ।

गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मुक्तिनाथ च्वयनधाम मिनी मुक्तिनाथको रूपमा विकास भइरहेको बताइन् । 

च्यवन धाम र गौ संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि धार्मिक महोत्सव आयोजना गरिएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताइन् ।

साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ