- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुगु । विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । सोमबार छायाँनाथ रारा नगरपालिका -२ चैनगाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको गाथ (मूर्ति) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ धामतिर लगेपछि छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको हो।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा लगिएसँगै छायाँनाथ धाम तीर्थ यात्रा शुरु भएको मानिन्छ ।
सोमबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगुलगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।
जनैपूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पूजापाठ, होम ब्रत हुने गर्दछ भने बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनतकुमार हमालले बताए ।
महादेवले सतिदेवीको सवलाई घुमाउदै लैजाने क्रममा छायानाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा पतन भएकाले विश्वका चारवटा धाम मध्य छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दू धर्मालम्वीहरुले साउन शुक्ल पूर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पूरा हुने विश्वासले छायाँनाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाइ छ ।
छायाँनाथ जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही नयाँ धामी बनेर आउने गरेका छन् भने कोही देवतालाई शुद्धी गर्ने, घण्ट, माला पवित्र बनाउन जाने गरेका छन् ।
हिन्दू धर्मावलम्बीहरुको पवित्र ४ धामहरुमध्ये छायाँनाथधाम सबैभन्दा उच्च स्थानमा रहको छ ।
बिहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि पूर्णिमाको पछिल्लो दिनमा फर्किनेछ।
यसैबीच मंगलबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल रिणिमोक्क्षधाममा ३३ कोटी देवता र अप्सराका गाथ (मूर्ति) लिएर तीर्थालुहरु जाने भएका छन् । त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।
छायाँनाथको गाथ लिने दिन भन्दै छायाँनाथ रारा नगरपालिकाले सोमबार मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको थियो ।