arrow

कांग्रेस केन्द्रीय समिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर सानेपामा गत साउन २३ गतेदेखि जारी बैठक भदौ ७ गते बस्ने गरी स्थगित भएको हो । 

सोमबारको बैठकमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्मदिवसको सम्झना गरियो । 

१९९६ साल साउन २८ गते जन्मेका कोइरालाले संक्रमणकालीन राजनीतिक परिस्थितिमा संविधान सभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको भन्दै कांग्रेस बैठकमा जन्म जयन्तीका अवसरमा उनीप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गरिएको छ । 

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका थिए । 

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेका थिए । 

बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम चलिरहेको हो । केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ