arrow

 ‘केसीसी एक्जिबिट–२०२४’ शुक्रबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
kcc-kantipur-city-college.jpg

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले ‘केसीसी एक्जिबिट २०२४’ आयोजना गर्ने भएको छ । कलेजले यही साउन ३२ र भदौ १ गते सो प्रदर्शनी आयोजना गर्न लागेको हो । यो कलेजले आयोजना गरेको यो १७औं श्रृंखला हो ।

प्रदर्शनीको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह श्रेष्ठले उद्घाटन गर्ने केसीसीले जनाएको छ । प्रदर्शनीमा विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाहरुका नमूनाहरु प्रदर्शनीमा राखिने छन् । यस्ता नमूनाहरु कलेजकै विद्यार्थीहरुले निर्माण गरेका छन् ।

यस केसीसी एक्जिबिट २०२४ को मूल नारा ‘इनोभेट, एक्जिभिट, इन्स्पायर (आविष्कार, प्रदर्शन, उत्प्रेरणा) रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यस सम्बन्धी अन्तरक्रिया गर्नेछन् । 

प्रदर्शनीमा राखिने नमूनाहरु इन्जिनियरिङ, आईटी र व्यवस्थापनसँग सम्बन्धित रहने छन् । प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि छन् । 

यसैगरी आइईटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहने छन् । यी सिस्टममा अधिकतम एआईको प्रयोग भएका छा् । यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गर्ने छन् । 

विभिन्न विधाका गरी, ३० भन्दा बढी स्टल रहने प्रदर्शनीका उपसंयोजक सरोज पाण्डेले जानकारी दिए । प्रदर्शनीमा १२ हजार भन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको पनि उनले बताए । 

कलेज प्राङ्गणमै हुने प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहित राष्ट्रिय स्तरका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक राजिव तिमल्सिनाले जानकारी दिए । 

दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए । प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टु इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ । यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन् ।  

कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो । 

यहाँबाट उत्तीर्ण विद्यार्थीहरुले देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरी आफ्नो दक्षता प्रस्तुत गरिरहेको केसीसीले दावी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ