- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२०८१ भाद्र महिनाको मासिक फल
यो महिनाको संक्रान्ति शनिबार परेकाले वर्षाका कारण धानबालीमा असर पर्नेछ । महामारी रोग देखा पर्नेछन् । रोगका कारण पशु व्यवसायमा हानि पुग्नेछ । पश्चिमी भूभाग अशान्त रहने देखिन्छ । राजनीतिक क्षेत्रमा विश्वासको संकट देखापर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
खाद्यान्नको मूल्य भने सामान्य रहनेछ । फलफूल तथा तरकारीको मूल्य अत्यधिक वृद्धि हुनेछ । मुलुकका केही भूभागमा अत्यधिक वर्षाले भूक्षयका साथै जनधनको नोक्सानी हुनेछ । शासकबिरुद्ध जनआक्रोश बढ्दै जानेछ ।
भाद्र महिनाको १, २, ३, १०, ११, १२, १३, १४, १६, १७, २०, २१, २२, २३, २४, २५, २०, ३० र ३१ गते मेघबादल, चट्याङसहितको वर्षा हुने योग देखिन्छ ।
यो महिनामा खीर, मह, साँवा, दूध, सख्खर आदिको दान गर्दा उचित हुने देखिन्छ ।
२०८१ भाद्र महिनाको मासिक राशिफल
मेष
सूर्य पाँचौं घरमा रहेको छ । यसको प्रभावले तपाईंको कार्यक्षेत्र र बन्द व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्न सक्छ ।
पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । सूर्यका साथमा मङ्गल ग्रहको समेत पाँचौं भावमा नै उपस्थिति छ, जुन तपाईंको राशिस्वामी हो । यसले २२ गतेपछि छैंटौं भावमा प्रवेश गर्नेछ । यसको प्रभावले विद्यार्थीका लागि एवं शैक्षिक क्षेत्र र बौद्धिक क्रियाकलापमा संलग्नहरूका लागि उत्तम समय रहने छ । यस अवधिमा भाइबहिनी वा छोराछोरीका चाहना र इच्छा पूरा गर्न समय र धन खर्च गर्दछ ।
यो सिर्जनासँग सम्बन्धित घरसमेत भएकाले जातकको व्यक्तित्व आकर्षक बन्दछ, ऊ स्पष्ट वक्ता हुन्छ, साथै आफ्ना धारणा र विचारलाई खुल्ला ढङ्गले प्रस्तुत गर्नु, खेलकुद, चित्रकला, सङ्गीत र साहित्यमा पनि चासो बढ्नु स्वाभाविक मान्ने गरिन्छ । पाँचौं र छैंटौं भावमा नै यस पटक बुध ग्रहको समेत उपस्थिति रहने छ, यसको प्रभावले नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ ।
यता लाभ भावमा बसेको बक्र बृहस्पतिको यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिसँगको सम्बन्ध सुमधुर रहने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । विद्यार्थीहरूले परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफलता प्राप्त गर्नेछन् । नयाँ जोडीले इच्छाएको सन्तानप्राप्तिको अवसर पाउनेछन्, बेबीप्लान गर्न समुचित बेला आएको छ ।
त्यस्तै सप्तमेश शुक्रले छैंटौँ र सातौँ भावको भ्रमण गर्नेछ, २० गतेपछि यसको राम्रो प्रभाव रहने भए पनि त्यसयता स्वास्थ्यसम्बन्धी समस्याका कारण दिनचर्यामा पनि अवरोध आउने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धी प्रबल हुनेछन् । दशमेश शनिले दशम भावमा नै यात्रा गर्दैछ । तर यसको गतिसमेत बक्र रहेकाले यस अवधिमा इच्छाएको परिणाम प्राप्त गर्न कडा मेहनेत गर्नुपर्छ ।
प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । दोस्रो भावमा बसेको राहुले मुख छुच्चो बनाउने छ भने दैनिकी सञ्चालनका क्रममा धनसंग्रहमा कठिनाइ हुनेछ । त्यस्तै अष्टम भावको केतुले पनि सकारात्मक फल दिन सक्दैन, यस अवधिमा हिंड्दा, काम गर्दा वा बोल्दा हतार नगरेको जाति हुनेछ, नत्र सानातिना बिमारी र चोटपटकको सम्भावना बन्नेछ ।
यो महिनाका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग हल्का रातो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । कुनै पनि अनिष्ट नहोस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा श्री हनुमान चालिसाको पाठ गर्नु पनि राम्रो हुन्छ । चन्द्रगोचरका आधारमा यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते अलि नकारात्मक दिन मानिने छन् ।
वृष
गृहसुखसित सम्बन्धित घरमा भाद्र महिनाभरि सूर्यको निवास हुनेछ । यसको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा वृद्धि हुनेछ ।
नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुन सक्छ । सूर्यका साथमा महिनाको अधिकांश समय सप्तमेश मङ्गलको समेत यसै भावमा उपस्थिति रहने छ । यसको प्रभावले प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ ।
त्यस्तै यस महिनामा बुध ग्रहले यात्रा गर्ने समय हो, यसको प्रभावले जग्गाजमिनको कारोबार वा अंशसम्बद्ध कुनै समस्या छ भने यस अवधिमा प्रयास गरेमा हल हुन्छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । त्यस्तै तपाईंको राशिबाट दशम भावमा बृहस्पति ग्रहको उपस्थिति रहने छ, यसको प्रभावले कर्मचारी र सार्वजनिक क्षेत्रका व्यक्तिले राम्रो लाभ पाउन सक्छन् । स्तरवृद्धि, पदोन्नति र समुन्नतिको अवसर मिल्नेछ ।
नयाँ करार र सम्झौता गर्नाले व्यक्तित्व, प्रतिष्ठा र भौतिक समृद्धि बढाउन पाइने छ । यो महिना राशिस्वामी शुक्रले पाँचौं र छैंटौं भावको यात्रा गर्दैछ । महिनाको २० गतेपछि यसको नकारात्मक प्रभाव रहे पनि अधिकांश समय हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसमृद्धि पनि बढ्नेछ । पारिवारिक जीवन अति सुखद् रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । त्यस्तै भाग्येश शनिश्चरले यस अवधिमा भाग्य स्थानकै यात्रा गरिरहेको देखिन्छ, यसको बक्र प्रभाव रहेको हुँदा खासगरी मातापिताको स्वास्थ्यस्थिति र सम्बन्ध–सम्पर्कमा कमी आउने समय हो । तर बाह्य परिवेश राम्रै देखिन्छ, यस अवधिमा राजनैतिक÷प्रशासनिक पदका व्यक्तित्वसँग सुमधुर सम्बन्ध कायम हुनेछ । त्यस्तै तपाईंको आफ्नै राशिमा राहु ग्रहको र सप्तम भावमा केतुको उपस्थिति देखिन्छ ।
यसको प्रभावले चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । विपरीत लिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन । यस महिनामा दुःख कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यात्रा सुखद् र सफल हुनेछन् । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । खर्च बढे पनि आम्दानी भन्दा बढी खर्च हुनेछैन ।
यो महिनाका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । शुभ परिणाम प्राप्त होस् भन्ने उद्देश्यले राहु ग्रहको स्वस्तिशान्ति र मन्त्रजप गर्ने अथवा नागदेवताको पूजा गर्नु राम्रो हुनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकूल रहने सङ्केत छ ।
मिथुन
भाद्र महिनामा तेस्रो भावमा सूर्यले प्रवेश गर्नेछ । सूर्यका साथमा राशिस्वामी बुध र लाभेश मङ्गलको समेत उपस्थिति रहने देखिन्छ । यसको प्रभावले तपाईंमा आत्मबल, सामथ्र्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम् समय घुमघाम र भ्रमणमा बित्नेछ । ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ । घर परिवारका सदस्य, मित्र र नातागोता बीच सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ ।
सामाजिक र परोपकारी काममा सहयोेग लिन–दिन सकिनेछ । व्यक्तिगत सम्बन्मा सुधार हुनेछ । आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनुहुने छ । मङ्गल ग्रहको नैसर्गिक कारक भाव मान्ने भएकाले खुसी र आनन्दको माहौल बन्नेछ । सरकार वा सरकारी पक्षका कामबाट लाभ हुनेछ । हिम्मत र साहसमा वृद्धि हुनेछ । शत्रु पराजित हुनेछन् । तर्कशक्ति र मनन गर्ने क्षमतामा स्तरीयता प्राप्त हुनेछ । धन वृद्धि हुनुका साथै आर्थिक सुदृढता हुनेछ । खासगरी सुन, चाँदी वा अन्य धातुका कारोबारीले धन बढाउने राम्रा अवसर पाउने छन् । व्यक्तिगत प्रभावमा वृद्धि हुनेछ । इच्छित वस्तु वा परिणामको प्राप्ति हुनेछ । परिवारका सदस्यको उन्नति प्रगति र स्वास्थ्यस्थिति राम्रो हुने छ ।
यस महिनामा राशिस्वामी बुधले तृतीय र चतुर्थ भावको यात्रा गर्ने भएकाले महिनेतको राम्रो नतिजा हात पार्ने छ । नयाँनयाँ व्यक्तिसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । पुराना साथीभाइसँग भेट्घाट हुनेछ । व्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । यस महिनामा बक्र गतिमा भए पनि भाग्य भावमा बृहस्पतिको गोचर देखिनेछ । यसको प्रभावले देशविदेशको भ्रमण हुने वा तीर्थाटन गर्ने अनुकूलता मिल्ने छ । अधबैंसे र बृद्धावस्थाका व्यक्तिले छोराछोरी वा नातिनातिनाको कार्यक्षेत्रमा प्रगति भएको समाचार सुन्न पाउनेछन् । यस महिनामा द्वादशेश शुक्रले चतुर्थ भाव र पञ्चम भावको यात्रा गर्ने भएकाले धार्मिक र परोपकारी काममा धन खर्च हुनेछ । घरको मर्मत सम्भार र सुविधा वृद्धिका लागि व्ययभार थपिन सक्छ । तर गरेको प्रयासमा सफलता मिल्नेछ । भाग्येश शनिको आठाौँ भावमा अढैया दशा चलिरहेकाले पारिवारिक झैझमेला र किचलोमा सतर्कता अपनाउनु राम्रो हुनेछ । यात्रा, हातहतियारको प्रयोग र राखनधरनमा समेत सतर्कता अपनाउनु पर्नेछ । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति यसै महिनामा हुनेछ ।
यो महिनामा आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेतअनुसार प्रतिफल राम्रै पाइनेछ । तर संघर्ष खूब गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने भए पनि व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । सद्विचारले अभिप्रेरित हुनेलाई विस्तारै लाभ हुनेछ । यस्तै, राहुको प्रभाव बाह्रौं र केतु छैंटौं भावमा रहे पनि राहुको प्रभावले निराशाको वातावरण कायम रहने छ तर केतुले शुभ फल प्रदान गर्ने छ ।
भाद्र महिनाका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कामको थालनी गर्नाले सफलता मिल्नेछ । यो महिना कुनै पनि अशुभ नहोस्, सर्वत्र विजय होस् भन्ने उद्देश्यले शनि ग्रहको उपासनामा जोड दिनुहोला । यसका लागि हरेक दिन शनिमृत्युञ्जयको वा शनि चालिसाको पाठ गर्दा राम्रो हुनेछ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते अनुकूल दिन हुने छैनन् । यी दिनमा सचेत हुनुहोला ।
कर्कट
भाद्र महिनामा चतुर्थ भावमा सूर्यको गोचर हुनेछ । त्यस्तै महिनाको प्रारम्भमा यसै भावमा पञ्चमेश मङ्गल र पराक्रमेश बुधको समेत उपस्थिति रहनेछ । यसको प्रभावले कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय रहेको छ । सामाजिक सर्कलमा नाम–सुनाम चल्ने र साँख बढ्ने संकेत रहेको छ । धनवृद्धि गर्न कडा मिहिनेत गर्ने महिना रहेको छ । धनसम्पत्तिको सञ्चय गर्ने सोँच बन्नेछ तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्न कठिन हुनेछ । दीर्घकालीन लगानी र कारोबारप्रति सचेतता अपनाउन आवश्यक छ ।
सरकारी काम वा उच्च अधिकारीसँगको हिमचिम र भेट्घाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुने छ । सूर्य ग्रहको प्रभावले विद्यार्थीका लागि राम्रो नतिजा प्राप्त गर्नेछ । मौखिक अभिव्यक्तिसँग संबद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो महिनामा प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोँकझोँक चलिरहन्छ तर पनि प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ ।
मङ्गल ग्रहको प्रभावले भौतिक सम्पत्ति, जग्गा जमिन र मानवीय आवश्यकताका वस्तुप्रति चासो बढ्ने देखिन्छ । यद्यपि शत्रु, रोग र चोरी डकैतीको कारक ग्रह धनस्थानमा बस्नुलाई त्यत्ति सकारात्मक मान्न सकिँदैन । यस भावमा बसेका मङ्गलले खाल्डो, दह, आगो, चोरी, दण्ड, जरिवाना, कडा बोली, कलह र शत्रुसँग सम्बन्ध राख्ने भएकाले ती क्षेत्रबाट जोगिनु राम्रो हुन्छ । यस अवधिमा बुधले धन भावको र त्यसपछि पराक्रम स्थानको यात्रा गर्दैछन् । त्यसको प्रभावले आर्थिक क्षेत्र सबल रहनेछ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ ।
लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । यस महिनामा भाग्येश बृहस्पति अष्टम भावमा बक्र गतिका साथमा रहने भएकाले सधैँ असुरक्षाको महसूस छ । मानसिक चिन्ताका कारण कष्ट हुने छ । लाभेश शुक्र यो महिना तृतीय र चतुर्थ भावमा रहने देखिन्छ । त्यसैले मन अत्यधिक उत्साही र फुर्तिलो रहने छ । ससाना यात्रा सुखद् र फलदायी हुनेछन् ।
पारिवारिक सुख कायम रहने छ । सप्तम भावमा रहेका बक्र शनिले पारिवारिक किचलो र साझेदारसँग विश्वासको सङ्कट देखिनेछ । यस अवधिमा जीवन साथी वा साझेदार÷सहयोगीले होच्याउन प्रयास गर्नेछन् । अरुले गरेका अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुन सक्छ । यस्तै एघारौं भाव रहेका राहुको शुभ प्रभाव प्राप्त हुनाले महत्वपूर्ण व्यक्तिको सम्पर्कमा भइने छ । आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्न सकिने समय रहेको छ । नयाँ व्यवसाय र उद्योग धन्दामा लगानी गर्न सकिनेछ । पाँचौँ भावमा बसेका केतुका प्रभावले धेरै जनासँग मिलेर काम गर्ने प्रयास हुनेछ ।
तर उचित परिणाम प्राप्त गर्न धौधौ हुनेछ । शीघ्र र हतार गर्दा कुनै काम सफल हुँदैन । परिवारका सदस्यको अस्वस्थताले पनि चिन्तित तुल्याउन सक्छ । यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पाइनेछ । यस महिनामा नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग रहेको छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घर, जग्गा खरिद बिक्रीको योग पनि रहेको छ ।
भाद्र महिनाका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यता, राशिस्वामी चन्द्रमाले यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते अशुभ भावको यात्रा गर्ने भएकाले यी दिनमा सचेत हुन आवश्यक छ ।
सिंह
भाद्र महिनामा राशिस्वामी सूर्यले तपाईंको आफ्नै राशिको परिभ्रमण गर्नेछन् । त्यसैले भाद्र महिना अत्यन्तै उत्साहप्रद र शुभकारक महिना हुनेछ । मङ्गल ग्रह र बुध ग्रहलेसमेत तपाईंको आफ्नै राशिमा गोचर गर्नेछन् । जसका कारण यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसर प्राप्त गर्न सक्नु हुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त हुन सक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ ।
कुनै महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुने छ । तपाईंभित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तर बृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ ।
यो महिना धनधान्यमा वृद्धि हुनेछ । यस अवधिमा धन सम्पत्ति र सुख सुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुने छ । तर मङ्गल ग्रहको उपस्थितिले केही असन्तोष उत्पन्न गर्न सक्छ । खासगरी यस अवधिमा आफैं भित्रका शत्रु अर्थात् आडम्बर, अहङ्कार र क्रोधको मात्रामा वृद्धि हुन्छ । आर्थिक अभाव हुने भएकाले खासगरी न्यून आय भएका व्यक्तिमा मनमा डर, आतङ्क र मानसिक कष्ट बढ्ने परिस्थिति सिर्जना हुनेछ । यात्राका क्रममा सचेतता अपनाउनु पर्दछ । मंगल रोग, झैझगडा र मुद्दामामिलाको कारक ग्रह हो । बुधको प्रभावले अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । पञ्चमेश बृहस्पतिको बक्र प्रभावले दाम्पत्य जीवनमा सामान्य किचलो देखिए पनि नकारात्मक फल प्राप्त हुनेछैन । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुनेछ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ
दोस्रो र तेस्रो भावमा रहने शुक्रको प्रभावले घरपरिवारका सदस्यसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र मिष्ठान्न भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिको जमघट हुनेछ । शनिको प्रभावलेसमेत शुभ परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । राहुको प्रभावले आत्मविश्वासमा अभिवृद्धि हुनेछ । निडर र जुझारु बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न । यस महिनामा केतुको प्रभावले यस अवधिमा वैचारिक अस्थिरता देखिन सक्छ । ससाना कुरा र विषयका कारण झैझगडा र विवाद हुनसक्छ, सचेत हुनुपर्छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
भाद्र महिनाका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । सिंह राशि हुने व्यक्तिले राशिस्वामी सूर्य र मङ्गल ग्रहको बल प्राप्त गरेमा हरेक चुनौती र विघ्नमा सफलता प्राप्त गर्नुहुनेछ । त्यसैले तपाईंले यस महिनामा किशोर अवस्थाका बालक (केटा) लाई पठनपाठनमा प्रयोग हुने कुनै चिजबिज दान गर्ने र दैनिक सूर्यलाई अघ्र्य दिने काम गर्नु बुद्धिमानी हुनेछ । यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईंका लागि प्रतिकुल रहने भएकाले यी दिनमा सचेत हुन आवश्यक छ ।
कन्या
भाद्र महिनाभरि सूर्यले बाह्रौं घरमा भ्रमण गर्नेछ । राशिस्वामी बुधले पनि तपाईंको आफ्नै राशिमा गोचर गर्नेछ । यस महिनामा सूर्यको प्रभावले खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका व्यक्तिले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईंको घरपायक सरुवा हुन सक्छ । यस महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । विद्यार्थीले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडा जस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ । यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय रहेको छ । बुध ग्रहको प्रभावले अनावश्यक खर्च हुनेछ, नियन्त्रण गर्नुहोला । कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति सिर्जना हुन सक्छ । यो धन सम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँ पैसा चोरी हुने खतरा हुन्छ । मङ्गल ग्रहसमेत तपाईंको आफ्नै राशिमा रहने भएकाले क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ, क्रोध र अहङ्कारको मात्रामा बृद्धि हुनाले दुःख पाइने छ ।
त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथी बीचमा मौजमस्ती र खानपानमा खर्च बढ्ने समय पनि हो । बृहस्पति ग्रहको प्रभावसमेत सकारात्मक रहन सक्दैन । पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्यसम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसँगको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र प्रतिस्पर्धी बलिया हुनेछन् । तर तपाईंको राशिमा रहेको शुक्र ग्रहको प्रभाव रहने छ । शुक्रको प्रभावले सुखद् वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्य सुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् ।
दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । बक्र शनिको प्रभावले किशोरकिशोरी र विद्यार्थी जिम्मेवारी तथा कर्तव्यबाट टाढा भाग्नेछन् । यस अवधिमा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धि विवेकको ह्रास हुनेछ । भाग्य स्थानमा बसेको राहु र केतुको प्रभावले शुभ फल नै प्राप्त हुनेछ तर पनि यसको प्रभावले लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिएर त्यसैमा घोरिरहन सकिन्छ । व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ, होस राख्नुपर्छ ।
यस्तै, यो महिनामा शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिन सक्छ । खर्चिलो यात्रा पनि हुन सक्छ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आश मारिसकेको ठाउँबाट धन हात पर्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ ।
भाद्र महिनाका लागि शुभ अङ्क १, ६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ । यस अवधिमा अधिकतम् शुभफल प्राप्त होस् र यावत् नकारात्मक फलको अन्त्य होस् भन्ने उद्देश्यले तपाईं सूर्योपासनामा जोड दिनुपर्छ । यसका लागि दिनहुँ सूर्योदयको समयमा रातो फूल, मह र शुद्ध जल तामाको पात्रमा राखी सूर्यलाई अर्घ्य दिएको जाति हुनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते कमजोर दिन रहेकाले हरेक कार्यमा सतर्क हुन आवश्यक छ ।
तुला
भाद्र महिनामा लाभ भावमा बसेका सूर्यको प्रभावले इच्छा र आकांक्षा पूर्ण हुनेछ । सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा वृद्धि हुने सम्भावना छ । सरकारको उच्च ओहदाका मानिससँग तपाईंको सुसम्बन्ध कायम हुनेछ । जसले महत्वपूर्ण फाइदा लिन सकिनेछ । कार्यालयका सिनियर कर्मचारीले पनि सहयोग र समर्थन गर्नेछन् ।
यस महिनामा तपाईं स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्न सक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो ।
सूर्यका साथमा मङ्गल र बुध ग्रहले समेत यात्रा गर्ने भएकाले सकारात्मक र शुभफल प्राप्त हुनेछ । यस अवधिमा विदेश वा दूरदराजको यात्राको योजना बनाएमा सफल हुन सकिन्छ । लाभ भावमा रहने मङ्गल ग्रहले धन स्थान, बुद्धि स्थान र शत्रु स्थानमा पूर्ण दृष्टि राख्दछ । राजनीतिक फाँटमा रहेका व्यक्तिले यस अवधिमा राम्रो उपलब्धि निकाल्न सक्दछन् । त्यस्तै राजकाजमा रहेका कर्मचारी वा अधिकारीले पनि सामाजिक र आर्थिक हैसियतमा वृद्धि गर्ने अवसर पाउने छन् ।
यस अवधिमा दाजुभाइले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो गर्ने समय हो । त्यस्तै बृहस्पति ग्रहको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घरपरिवारमा माङ्गलिक कार्यको आयोजना हुन सक्छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् ।
उता राशिस्वामी शुक्रको प्रभावले खर्च वृद्धि हुनेछ । त्यसैले यस अवधिमा आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ । नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । प्रतिद्वन्द्वीले हानी पुर्याउने प्रयास गर्नेछन् । शनि ग्रहको प्रभाव पनि अनुकूल रहँदैन । पारिवारिक सुखको पनि अभाव हुनेछ । राहुको प्रभाव पनि सन्तोषजनक छैन । त्यसैले गरेका प्रत्येक काममा असफलता हुने सम्भावना छ । कुनै न कुनै अप्ठ्यारोले पछ्याइरहेको हुनेछ ।
यस्तै केतु ग्रहले मुख छुच्चो बनाउने छ । कहिलेकाँही अपशब्दको प्रयोग गर्नाले आफन्तसँग वैरभाव सिर्जना हुनेछ । यो महिनामा घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । विपक्षीले रिस गरे पनि काम बिगार गर्न सक्ने छैनन् । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससँग नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ ।
भाद्र महिनाका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यू रङ्ग वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ । यस महिनामा भए जति सबै अनिष्टता र अशुभ फलको समाप्ति होस् भन्ने उद्देश्यले तपाईंले शुक्र ग्रहको उपासनामा जोड दिनुहोला । चन्द्रगोचरका आधारमा यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ दिन रहने छन्, यी दिनमा सतर्क हुन आवश्यक छ ।
वृश्चिक
भाद्र महिनामा कर्मक्षेत्रमा राशिस्वामी मङ्गलको उपस्थिति रहेको छ । सूर्यले समेत यसै भावमा प्रवेश गर्नेछ । यसको प्रभावले कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने सकिनेछ । व्यवसायीले आफ्नो व्यापारिक प्रतिष्ठानबाट निकै उन्नति गर्नेछन् । मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिन यस महिनामा सकिनेछ । कर्मचारीले मनले चाहेको जिम्मेवारी र पदभार पाउने छन् ।
हाकिम वा वरिष्ठ व्यक्तिसँग सुसम्बन्ध कायम हुनेछ । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन सकिने छ । नयाँ जिम्मेवारी पाउने, विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्ने महिना रहेको छ । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ । तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्न सक्छ । अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षण गर्न सकिनेछ ।
यता, मङ्गलले लाभ भावको यात्रा प्रारम्भ गर्ने भएकाले व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ ।
यस महिनामा बुधले पनि कर्मक्षेत्र र लाभ भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यापार÷व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । वाहन र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुन सक्छ । बृहस्पतिको प्रभावले पनि राम्रै प्रतिफल पाउन सक्नुहुन्छ, यद्यपि यस अवधिमा घरमा रहेको बृद्धबृद्धाको स्वास्थ्योपचार र सेवाचाकरीमा दौडधूप गर्ने परिस्थिति बन्न सक्छ । शुक्रको प्रभावसमेत तपाईंका लागि अत्यन्त शुभ कारक रहने छ । हरेक प्रयासमा शुभ फल मिल्नेछ । उच्चकोटीको पारिवारिक सुख मिल्नेछ । शुक्रको प्रभावले खर्च धेरै हुनेछ तर आम्दानीका मार्ग पनि पर्याप्त रहने छन् ।
शनिको प्रभावले प्रतिष्ठा र पराक्रममा बृद्धि हुनेछ । कुनै महत्वपूर्ण काम सम्पन्न गर्न दाजुभाइ वा नजिकको साथीको सहयोग लिन सक्नुहुन्छ । यसले नोकरी र बन्द व्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुनेछ । केतु र राहुको प्रभावले आन्तरिक सम्बन्ध र दाम्पत्य जीवनमा समस्या उत्पन्न गर्नेछ । साथै व्यापारिक साझेदारसँगको सम्बन्धमा विकार आउन सक्छ, सचेत हुनुपर्छ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ, तर वाहन चलाउँदा या बाटो हिँड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल गर्ने र खर्च बढ्ने छ ।
भाद्र महिनाका लागि शुभ अङ्क ५, ८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभ फलमा बृद्धि भइरहोस् भन्ने उद्देश्यले तपाईंले केतु ग्रहको उपासनामा जोड गर्नुहोला । यसका लागि दैनिक रूपमा दुर्गा कवचको पाठ गर्न सक्नुहुन्छ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईंका लागि अशुभ रहने छन्, यी दिनमा सचेत हुन आवश्यक छ ।
धनु
भाद्र महिनामा सूर्य, बुध र मङ्गल ग्रहले तपाईंको राशिबाट नवौँ घर अर्थात् भाग्यस्थानको यात्रा गरेको समयमा भाद्र महिनाको प्रारम्भ भएको छ । यसको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने हुनेछ । सन्तानले उन्नति–प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय रहेको छ । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र बन्द व्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय रहेको छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल भइने छ । यसै भावमा बुद्धिक्षेत्रको मालिक न्याय, कानून, सुरक्षा निकाय, सैन्यपक्ष, खेलकुद र साहसी क्रियाकलापसँग सम्बद्ध व्यक्तिले यस अवधिमा राम्रो उपलब्धि हात पार्ने समय हो । भाद्र महिनामा मंगल ग्रहको प्रभावले खर्च भाव, पराक्रम स्थान र सुख भावमा पूर्ण दृष्टिले देख्दछ । त्यसैले यस अवधिमा घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ ।
आयका मार्ग बढाउने सत्कर्ममा सफलता मिल्नेछ । यस महिना बुधको प्रभावले वाणीमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रशिद्ध व्यक्ति सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ ।
यस्तै, बृहस्पतिको प्रभावले भाद्र महिनामा गरेका क्रियाकलापको प्रशंसा हुनेछ । आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद् हुनेछ । यस महिनामा शुक्र ग्रहले कर्मक्षेत्र र लाभ भावको यात्रा गर्नेछ, कर्मक्षेत्रमा रहँदा २० गतेसम्म यसले केही अशुभ फल प्रदान गरे पनि समग्रतामा यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । हिजोआज शनिश्चर ग्रहको अन्तिम साढेसातीको प्रभाव रहने छ, यो आर्थिक कठिनाइको सामना गर्नुपर्ने समयावधि हो । यस अवधिमा तपाईंले जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । छैटौँ भावमा बसेको राहुले अनुकूल र राम्रा फल प्राप्त हुनेछ ।
यस अवधिमा उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । तर यस अवधिमा बाह्रौं भावमा केतुको उपस्थिति रहेकाले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । नयाँ र शुभ कार्यको योग छ । राजनीतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ ।
यो महिनाका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण÷दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । यस अवधिमा कुनै पनि अशुभ फल प्राप्त नहोस् र सामान्य जीवन यापन होस् भन्ने उद्देश्यले तपाईंले शनिदेवको उपासनामा जोड गर्नुहोला, यसका लागि हरेक शनिवारका दिन झिसमिसेमा पीपलको बोटमा जलार्पण गर्नु जायज हुनेछ । यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गतेको चन्द्रमा तपाईंको अनुकुल नहुने हुँदा यी दिनमा कुनै नयाँ काम वा यात्राको थालनी नगर्नु होला ।
मकर
भाद्र महिनामा सूर्य, मङ्गल र बुधको उपस्थिति हुने र राशिस्वामी शनिको गतिमा समेत बक्रता रहेकाले कमजोर र अनिष्ट मान्नुपर्ने हुन्छ । यस अवधिमा सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुन आवश्यक छ । अनायासै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय रहेको छ ।
व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रु सक्रिय हुनछन् । शत्रुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रु सक्रिय हुने समय रहेको छ । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुन सक्छ । कार्यक्षेत्रमा उच्च पदस्त व्यक्तित्वसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो ।
यसैगरी धनमाल हराउने वा कमी आउने छ । यस महिनामा मंगलको प्रभाव पनि कमजोर छ । यसको प्रभावले चिताएका र ताकेका हरेक काममा बाधा आउने छ । यस्तै बुध ग्रहको प्रभाव रहेकाले जोखिमपूर्ण र रिस्की मानिने काम गर्नुहुँदैन । जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । तपाईंको जन्मकुण्डलीमा ग्रह बलियो र शुभ भावमा छन् भने दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । बृहस्पतिको प्रभाव शुभ रहने छ । यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । लोकप्रियता हासिल हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ ।
शुक्र ग्रहको प्रभावले पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । शनि ग्रहका कारण प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । राहुका कारण निर्णय क्षमतामा कमी आउने छ । साथै अन्धविश्वास र भ्रमले डेरा जमाउने परिस्थिति बन्नेछ । केतुका कारण सामाजिक क्षेत्रमा वर्चस्व कायम हुनेछ, जसबाट प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ ।
यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शेयर बजारको लगानीले त्यति राम्रो प्रतिफल नदिन सक्छ । महिनाको उत्तरार्धबाट रोकिएका अधुरा काम पुरा हुनेछन् । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् । साथी भाइसँग रमाइलो भेटघाट र यात्राले मन प्रशन्न हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा सुन्तला रङ हो । कुनै शुभकर्म गर्नु विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । यस्तै, कुनै पनि अशुभता प्राप्त नहोस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले राशिस्वामी शनिश्चरको उपासनामा ध्यान दिनु आवश्यक छ । यसका लागि शनिमृत्युञ्जय स्तोत्रको दैनिक पाठ गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते कमजोर दिन रहने छन् ।
कुम्भ
भाद्रमा महिनामा दाम्पत्य सुख, साझेदारी र प्रेमभावमा सूर्यको प्रवेश हुनेछ । सूर्यका साथमा मङ्गल र बुधको समेत उपस्थिति देखिन्छ । शनि ग्रहले बक्र गतिका साथमा उपस्थिति जनाएर लाभ भावको फल प्रदान गर्दैछ । त्यसैले यो महिना मिश्रित प्रभाव प्राप्त भए पनि तुलनात्मक रूपले शुभ नै रहने छ ।
सूर्यका कारण तपाईं स्वयंले वा जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय हो । कार्यक्षेत्रमा तपाईंको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने सोँचमा हुनुहुन्छ भने अर्को ठाउँमा पक्का भएमात्र पुरानो ठाउँ छाड्नु होला । नत्र धोका हुनसक्छ । समग्रतामा बन्द व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने समय पनि रहेको छ ।
यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय रहेको छ । त्यसैले तपाईंले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । यसै महिनामा मंगलको प्रभावका कारण वैवाहिक जीवन र दाम्पत्य सुखमा समस्या निम्त्याउँछ ।
व्यक्तिगत प्रकृतिमा रिसको प्रचुरता र बोलीमा कटुता देखा पर्नेछ । आमरूपमा मूत्रप्रणाली, प्रजनन स्वास्थ्य र पाचन प्रणालीका रोगव्याधिले सताउने गर्दछ, सचेत हुनुपर्छ । बुधले दुवै भावमा बसेर शुभफल प्रदान गर्नेछ । यस अवधिमा विद्धानका साथमा घुलमिल हुने मौका आउने छ । विपरीत लिङ्गीबाट सहायता मिल्नेछ । वैदेशिक प्रकृतिको कामधाम वा विदेशको यात्राबाट फाइदा लिन सकिन्छ ।
उता बृहस्पतिको प्रभावले पनि शुभ परिणाम नै प्राप्त हुनेछ । कर्ममा लगनशीलता बढ्नेछ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । शुक्रको फल त्यत्ति अनुकूल हुँदैन । खासगरी व्यक्तिगत स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन । यस अवधिमा यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।
शनिको फल शुभ परिणामका साथ उपस्थित देखिन्छन् । कुनैकुनै कुरामा सचेत र सतर्क हुनुपर्छ । किनभने यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । राहुको प्रभावले गरेका प्रयासमा असफलता हुनाले मानसिक तनाव बढ्न सक्छ ।
अभिभावक, हाकिम, उच्च पदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । केतुको प्रभावले परिणामप्रति आशावादी भइने छ । महत्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । यो महिनामा भाग्योदय हुने योग रहेको छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा काम पुरा हुन सक्छन् । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ ।
यो महिनाका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । तपाईंले अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि राशिस्वामी शनिको पूजाआजा र मन्त्रजपमा जोड दिएको राम्रो हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईंका लागि अशुभ रहने छन् ।
मीन
भाद्र महिनामा सूर्यदेवले बुध र मङ्गलका साथमा यात्रा गरेको देखिन्छ । यो कार्यक्षेत्र वा बन्दव्यापारका लागि कडा परिश्रम गर्ने समय रहेको छ । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो उपयोगी समयमा जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गा जमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ ।
नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यसै भावमा बसेको मङ्गलको प्रभावले पनि राम्रो परिणाम प्रदान गर्नेछ । यस अवधिमा प्रशासन, न्याय र सुरक्षा निकायमा कार्यरत व्यक्तिले चौतर्फी विजय प्राप्त गर्नेछन् । आम व्यक्तिका निमित्त पनि अब शत्रुगण सामु पर्न सक्दैनन् । वातावरण शान्त र समृद्ध बन्नेछ । मनका विकार, तुस र डरहरूको अन्त्य हुन्छ ।
बुध ग्रहको प्रभावले धनधान्यमा बृद्धि हुन्छ । सुन, चाँदी वा कुनै धातुजन्य बहुमूल्य सामाग्री जुटाउन सक्नुहुन्छ । दैनिकीलाई सहज र व्यवस्थित तुल्याउन सकिन्छ । बृहस्पतिका कारण शुभफल प्रदान गर्दैछन् । समग्रतमा अशुभताका तुलनामा शुभ फलकै आधिक्य हुनेछ । तर पनि यस अवधिमा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् ।
स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुन सक्छन् । घर परिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । विपरीत परिस्थितिलाई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ । यस महिनामा शुक्र ग्रहका कारण दाम्पत्य सुख र प्रेमसम्बन्धका दृष्टिले राम्रो समय रहने छ । रोगव्याधिको सामान्य प्रभावसमेत देखिने समय रहेको छ । आमा वा मातृपक्षका कुनै नातेदारको स्वास्थ्यस्थिति नाजुक बन्न सक्ने समय छ । खुट्टा तान्ने, फँसाउने वा होच्याउन खोज्नेले तपाईंको त्रुटि र गल्तीको खोजी गर्नेछन्, त्यसैले सचेत र सावधान भएर काम गर्ने समय हो ।
यस्तै शनि, राहु र केतुको फल पनि राम्रो देखिन्छ । यस अवधिमा दृढ़ इच्छा शक्तिका कारण विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम हुनेछ । सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । समग्रतामा शुभ फलको मात्रा नै बढी भएको यस महिनामा अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईंले आफ्नो राशिस्वामी बृहस्पतिको उपासनामा जोड दिनु राम्रो हुन्छ । यो महिना सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशन्नता गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ । तर स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ ।
यो महिनाका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । मीन राशिका सबै जातकले सधैं वा सकेसम्म यस महिनाभरि पुष्पराज रत्न मन्त्रसिद्ध गरी धारण गरेको राम्रो हुन्छ । त्यसबाहेक ग्रहजन्य अशुभताको निवारणका लागि तपाईंले कुलपितृको उपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ ।