arrow

विष्णु र शंकरको द्वन्द्वले बुद्ध जन्मभूमिमा एमालेको भाँडभैलो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
bishnu-poudel-shankar-pokharel-uml.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशमा भाँडभैलो भएको छ । प्रदेश अधिवेशनदेखि नै समस्या रहेको लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच आन्तरिक द्वन्द रहेका कारण झन भाँडभैलो उत्पन्न भएको हो ।

उपाध्यक्ष पौडेल निकट रहेका सांसद लिला गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अहिले संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । 

शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । पूर्वमुख्यमन्त्री लिला गिरीलाई हटाएर आचार्यलाई दलको नेता चयन गर्ने बेलामा गिरी उपस्थित भएका थिएनन् । 

आचार्य मुख्यमन्त्री बनेपछि असन्तुष्ट गिरीले गएको ७ साउनमा दलको नेताबाट राजीनामा दिएका थिए । आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।

श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्षसमेत हुन् । त्यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । 

चौधरी यसअघि पनि प्रमुख सचेतक थिए भने सचेतक रहेकी दाङकी रेखा शर्मालाई हटाएर तामाङलाई चयन गरिएको हो । श्रेष्ठ बाहेक सबै महासचिव शंकर निकट रहेका छन् ।

संसदीय दलको बैठकले मुख्यमन्त्रीले ४ गते मंगलबार विश्वासको मत लिने भएको र त्यसको तयारीका बारेमा पनि छलफल गरेको सांसदहरुले बताएका छन् । 

८७ सदस्यीय प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लिला गिरी भने उपस्थित नभए पनि पार्टीभित्र कहीँ न कहीँ समस्या रहेको बताइएको छ । 

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेश सभाको बैठक आहृवान भैसकेको छ । विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले शनिबार यसको छिनोफानो गरेको हो । 

लुम्बिनीमा पौडेल समूहले पार्टीलाई सहयोग गर्ने तर कुनै पनि जिम्मेवारी नलिने नीति अख्तियार गरेका कारण शनिबार पूर्वमूख्यमन्त्री गिरी उपस्थित नभएको स्रोतको दाबी छ । 

प्रदेश अधिवेशनमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा हुँदा रिजाल २ मतले पराजित भएका थिए । 

कँडेल पौडेल निकट हुन भने रिजाल पोखरेल निकट हुन् । लुम्बिनीको प्रदेशमा एमाले बलियो भए पनि पौडेल र पोखरेलको द्वन्द्वले पार्टीमा अप्ठेरोमा पर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ