- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ । भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।
पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।
इन्स्टाग्राममा लेखिएको छ, ‘ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उहाँले आफ्नो नश्वर शरीर त्याग्नुभएको छ । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।’
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उgले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई जानकारी दिए ।
नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उहाँ प्रसिद्ध भए ।
पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए ।
नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए ।
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका हुन् ।
हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।
जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।