- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बसेको छ । गत साउन २३ गतेदेखि जारी बैठक एक साता लामो विश्रामपछि शुक्रबार बसे पनि फेरि चार दिनको अन्तर राखेर बैठक बस्ने भएको छ ।
अबको बैठक बुधबार १२ गतेका लागि राखिएको छ । यसअघि शुक्रबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्यो ।
बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । शुक्रबार सहमहामन्त्रीहरू– फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर र जीवन परियारले धारणा राखे ।
त्यस्तै केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा आरजू राणा देउवा, जीतजंग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा राखे ।
यस्तो छ शुक्रबारको बैठकको निर्णयः
पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएको यो संवेदनशील घटनाले स्तब्ध बनाएको भन्दै कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ ।
त्यस्तै रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं २९ सत्रकिलोमा शुक्रबारै माथिबाट खसेको ढुंगाका कारणले बस अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति पनि कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै
उक्त दुवै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
तनहुँ दुर्घटनामा परी मृत्युवरण गरेकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै उक्त दुवै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।