arrow

पाकिस्तानमाथि बंगलादेशको ऐतिहासिक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
bangladesh-test-24-8-25.jpg

काठमाडौँ । बंगलादेशले टेस्ट क्रिकेटमा नयाँ इतिहास बनाएको छ । बंगलादेशले पाकिस्तानविरुद्ध टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

जारी टेस्ट श्रृंखलाको पहिलो टेस्टको पाँचौं दिन पाकिस्तानले दिएको ३० रनको झिनो लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाएर पुरा गर्दै १० विकेटको ऐतिहासिक जित हासिल गरेको हो ।

यसअघि पहिले ब्याटिङ गर्दै पाकिस्तानले ६ विकेट गुमाएर ४४८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्दै बंगलादेशलाई ब्याटिङका लागि बोलाएको थियो । बंगलादेशले आफ्नो पहिलो इनिङ्समा ५६५ रन बनाएको थियो । त्यसपछि पाकिस्तानले दोस्रो इनिङ्समा १४६ रन बनाएर अल आउट भएपछि बंगलादेशले ३० रनको लक्ष्य पाएको थियो ।

खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दैै ६ विकेटको क्षतिमा ४४८ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो । मोहम्मद रिजवानले अविजित रहँदै १७१ तथा साउद शकिलले १४१ रन बनाए । पाँचौँ विकेटका लागि दुवैबीच २४० रनको साझेदारी भएको थियो । 

जवाफमा बंगलादेशले मुश्फिकर रहिमको १९१, शद्मान इस्लामको ९३, मेहन्दी हसन मिराजको ७७, लिटन दासको ५६ तथा मोमिनुल हकको ५० रनको मद्धतले ५६५ रन बनायो । 

जवाफमा पाकिस्तानले दोस्रो इनिङ्समा १४६ रन मात्र बनाउन सकेपछि २९ रनको अग्रता लिन सक्यो । 

बंगलादेशका लागि मेहन्दी हसनले ५, शकिब अल हसनले ४ तथा शोरिफुल इस्लाम र हसन महमुदले समान ३–३ विकेट लिए । 


यो जितपछि बंगलादेशले २ खेलको टेस्ट श्रृंखलामा १–० को अग्रता हासिल गरेको छ ।

साथै बंगलादेशले टेस्ट क्रिकेटमा आठ देशलाई पराजित गरेको छ । बंगलादेशले अहिलेसम्म अफगानिस्तान, श्रीलंका, अस्ट्रेलिया र आयरल्याण्डलाई एक एक खेलमा पराजित गरेको छ भने न्यूजिल्याण्डलाई २, वेस्ट इण्डिजलाई ४ र जिम्बाबेलाई ८ टेस्टमा पराजित गरेको छ ।

अब श्रृंखलाको दोस्रो खेल शुक्रबारदेखि शुरु हुने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ