arrow

देउवाले बोलाए उपसभापति र महामन्त्रीद्वयसँगको छलफल, चुनावी गठबन्धन र कार्यकालको विषयले हलचल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् ।

पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन् ।

बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएको छ ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ । 

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । 

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् । 

देउवाले दुवै महामन्त्रीसँगको विवाद टुंगाएर बुधबार बस्ने केन्द्रीय समिति बैठकअघि नै निचोडमा पुगेर निर्णय पारित गर्ने योजनामा देउवा रहेका छन् । 

केन्द्रीय कार्यसमिति बैठक रोकिँदै बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक रोकिँदै बस्दै आएको छ । गत साउन २३ गतेदेखि जारी बैठक एक साता लामो विश्रामपछि गत शुक्रबार बसेको थियो । त्यसपछि फेरि चार दिनको अन्तरपछि बुधबार बस्दैछ । 

बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । अन्य विषयमा कुरा मिले पनि महामन्त्रीद्वयका दुई प्रस्तावमा भने कुरा मिल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ