arrow

कांग्रेसको आन्तरिक विवाद मिलाउने प्रयास जारी, केन्द्रीय समिति बैठक चार दिन पछाडि धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउने क्रम जारी रहँदा त्यसको असर केन्द्रीय कार्यसमिति बैठकमा परेको छ । भदौ १२ गते बुधबारका लागि बोलाइएको बैठक चार दिन पछाडि धकेलेर भदौ १६ गतेमात्र बोलाइएको छ । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दैै बैठकको मिति परिवर्तन भएको उल्लेख गरेका छन् । उनले जारी गरेको सूचनामा बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आगामी आइतबार भदौ १६ गते दिउँसो २ बजेका लागि डाकिएको छ । 

त्यसो त कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक रोकिँदै बस्दै आएको छ । गत साउन २३ गतेदेखि जारी बैठक एक साता लामो विश्रामपछि गत शुक्रबार बसेको थियो । त्यसपछि फेरि चार दिनको अन्तरपछि बुधबार बस्नु पर्नेमा थप चार दिन थपेर आगामी आइतबार पुर्याइएको छ । 

बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी छ । अन्य विषयमा कुरा मिले पनि महामन्त्रीद्वयका दुई प्रस्तावमा भने कुरा मिल्न सकेको छैन । 

पार्टीको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ ।

यस विषयमा नेताहरु सहमत हुन सकेका छैनन् । विशेषगरी संस्थापन पक्षका नेताहरु यो विषयमा सहमत हुन नसकेको उनीहरुका अभिव्यक्तिले नै स्पष्ट पार्दै आएको छ । 

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा सभापति शेरबहादुर देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । 

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् । 

त्यसैले पनि देउवाले दुवै महामन्त्रीसँगको विवाद टुंगाएरमात्र केन्द्रीय समिति बैठक बस्ने मनसाय बनाएपछि बैठक पछाडि धकेलिएको हो । 

जसका लागि आफ्नै निवासमा देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दैैछन् । बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ