arrow

भुरुङ्दी खोलामा पुरुषको शव भेटियो, हराएकी पर्यटकको भएको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
Kaski_District.png
फाइल तस्बिर

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भुरुङ्दी खोलामा एक पुरुषको शव भेटिएको छ । उक्त शव घोरेपानी पदयात्राका क्रममा हराएका स्पेनिस नागरिक ३७ वर्षीय इलिक सोलेर कासानोभासको भएको अनुमान गरिएको छ ।

उनीसँगै हराएकी ३२ वर्षकी मोलास जुन्का मेसी (महिला) अझै सम्पर्कविहीन रहेकी छन् । उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरु दुवै बेपत्ता भएपछि खोजीका लागि प्रहरी चौकी बीरेठाँटीबाट पर्यटक प्रहरीसमेत सात जना र सशस्त्र प्रहरी नं.२४ हेडक्वाटर मालेपाटनबाट ७ जनाको टोली खटिएको थियो ।

आइतबार अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको थियो ।

“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने ।

एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।

प्रवक्ता गुरुङले भने, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुन सक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक(लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।” पर्यटक हराएको जानकारी दूतावासलाई गराइसकिएको प्रवक्ता गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ