arrow

महासमितिले गरेका प्रस्तावलाई कांग्रेस केन्द्रीय समितिले छ महिनापछि गर्‍यो पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
congress-meeting-81-5-16y.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महासमिति सकिएको छ महिनापछि प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । पार्टी मुख्यालय बीपीनगर सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमितिका प्रस्तावलाई परिमार्जन गरी पारित गरेको हो । 

२०८० फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको महासमिति बैठकले निर्णय गरेका प्रस्तावलाई केन्द्रीय कार्यसमितिले छलफल गरी पारित गर्ने निर्णय गरेसँगै आइतबारको बैठकमा सर्वसम्मत पारित गरिएको हो । 

महामन्त्री गगनकुमार थापाले सर्वसम्मत पारित निर्णयहरु सुनाएका थिए । उनी आफैले गरेको प्रस्ताव जस्ताको त्यस्तै पारित भएसँगै उनको पार्टीमा पकडसमेत बलियो बनेको छ । 

उनले चुनावअघि कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने र सबै कांग्रेसले रुखमा मात्रै भोट हाल्न पाउनु पर्ने प्रस्ताव गरेका थिए । जुन सर्वसम्मत पारित भएको छ । 

त्यस्तै गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति संविधान संशोधन र सुशासनसहित पालना गर्न पार्टी प्रतिबद्ध रहेको निर्णय गरिएको छ । 

संविधानको स्वामित्व र यसको रक्षाको मूल दायित्व नेपाली कांग्रेसको हो भन्ने कुरालाई हृदयंगम गर्दै संविधानको वास्तविक मर्म बमोजिम परिमार्जन गर्न कांग्रेसले वृहत छलफल गर्ने र अग्रसरता लिने भएको छ । त्यस्तै कुनै भ्रममा नपर्न पनि सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । 

त्यस्तै बैठकले विधानसँग सम्बन्धित विषय र विधान संशोधन गर्ने विषयलाई विधान संशोधन मस्यौदा तयार गर्न समिति गठन गर्ने र समिति सदस्यहरु  आवश्यताअनुसार चयन गर्न पार्टी सभापतिलाई अधिकार प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

नेपाली जनसम्पर्क समिति सम्बन्धमा अधिवेशन प्रक्रिया सहज बनाउनका लागि विधानको धारा १४ को उपधारा ३ बमोजिम चयन गर्ने व्यवस्था गरी उपधारा ४, ५ र ६ निलम्बन गर्ने पदावधि ३ वर्षभित्र गर्ने लगायतका निर्णय भएको छ । 

त्यस्तै सदस्यता वितरण बारेमा पनि निर्णय भएको छ । 

साथै राज्यका विभिन्न तहको जिम्मेवारीमा रहने राजनीतिक पदाधिकारीको पदावधि सम्बन्धमा पार्टीगत मात्र नभएर संवैधानिकसमेत रहेको तथ्य दृष्टिगत गरी संविधान संशोधनको समयमा पार्टीले आवश्यक छलफल गरी निर्णय गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ