arrow

औँसीमा गोकर्णेश्वरमा थुप्रिएको फोहर उठाउन ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
gokarneshwor-fower.jpg

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको पितृ सम्मान दिवसको मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ गरिएको छ ।

बाबुको मुख हेर्ने औँसीका रुपमा चिनिने भाद्र कृष्ण औँसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा आई पिताप्रति सम्मान प्रकट गर्ने गर्छन् ।

सोमबार पनि नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो ।

क्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था भएको भक्तजनको गुनासो छ ।

आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए ।

पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गरे ।

मन्दिर क्षेत्र व्यवस्थापन समितिले फोहर गर्नेलाई  सफाइमा जिम्मेवार बनाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

वाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरे पनि पूरै फोहर भने उठाएन । अभियानले आज बिहान पनि ७ बजेदेखि सफाइ गरेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिए ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताए ।

वाग्मती सफाइ अभियान, लायन्स र लियो क्लबको सक्रियतामा हिजोदेखि सफाइ भइरहेको जानकारी उनले दिए ।

लाखौँ भक्तजनका कारण थुप्रिएको मेलाको फोहर व्यवस्थापनमा समय लागेको समितिले जनाएको छ ।

आगामी वर्षदेखि भक्तजनले आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने तयारी गरेका समितिले  जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ