arrow

इजरेलमा हतियार निर्यात निलम्बन ‘कानूनी निर्णय’ भएको बेलायती प्रधानमन्त्रीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
gaza-israel-palestine-AFP.jpg

काठमाठौँ । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरेलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताएका छन् । 

सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरेलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताए । 

उनले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गरे । 
 
“यो एक गाह्रो मुद्दा भएको मैले स्वीकार गरेको छु तर यो नीतिगत निर्णय नभएर कानुनी निर्णय हो”, स्टारमरले भने ।

गाजापट्टीमा हमास लडाकुहरू विरुद्ध इजरेलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उनले बताए । 

आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ–३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन । 

बेलायतको यो निर्णयले इजरेललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताएका छन् ।

यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गरेका छन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार लण्डनले आफ्नो कदमको घोषणा हुनुअघी वासिङ्टनलाई सुचित गरेको बताउनुभएको थियो । “हामी अन्य राष्ट्रलाई उनीहरूले इजरेललाई कुन हदसम्म समर्थन गर्ने छन् भनेर निर्णय गर्न दिनेछौँ”, किर्बीले पत्रकारलाई भने । “सार्वभौमसत्ता भनेको यही हो।" 

लण्डनमा स्टारमरले सांसदलाई भने “हामीले हाम्रा सहयोगीहरूसँग यस विषयमा कुरा गरेका छौं, उनीहरूसँग फरक कानुनी प्रणाली छ, यही कुरा उनीहरूले राखेका छन।” 

स्टारमर सरकारले उहाँको पूर्ववर्ती ऋषि सुनाकको प्रशासनको तुलनामा मध्य पूर्व द्वन्द्वमा बढी सूक्ष्म दृष्टिकोण अपनाइरहेको छ । त्यसैगरी बारम्बार युद्धविराम र गाजामा सहायता वितरणलाई तीव्र बनाउन आह्वान गरेको छ, र हमाससँग अक्टोबर ७ को आक्रमणमा कब्जा गरेका सबै बन्धकको रिहाई माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ