arrow

दुर्घटनामा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
accident-final.jpg

झापा । झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका-११ गिरीबन्धु टि-स्टेट स्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एक जनाको शुक्रबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका-५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१०प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना५ख ९१२२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका-१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए ।

घाइतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रकचालक अर्जुनधारा-६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो बेलुका कनकाई-५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १-०१-०१७ प ४३७० नम्बरको मोरटसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो ।

घाइते बालकलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

अस्पताल पुर्याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ