arrow

चलचित्र ‘वसन्त’को शुभमूहुर्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
film-basanta.jpg

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ ।

चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गरे ।

सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहेका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाएका थिए।

शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहेका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए । चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उनको भनाइ छ ।

“चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भने, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अभिनेत्री खड्काले चलचित्र छायाङ्कनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिए । गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाँकन पूरा गर्ने लक्ष्य लिइएको छ ।

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौँ र तराईमा गरिने उनको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लागेका हुन् ।

गायन करिअरको शिखरमा रहेकै बेला उनले चलचित्र निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी-२’ बाट अभिनेताका रुपमा उदाएका  थिए । ‘वसन्त’मा पनि उनी आफैं मुख्य पात्रका रुपमा देखिँदै छन् ।

‘परदेशी-२’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उनको भनाइ छ । चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।

विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको संघर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताए । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ ।

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिएकी छन् । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।

चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारेका छन् । चलचित्रको सह-निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका-३ धम्जामा जन्मिएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् ।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन् ।

चलचित्रको शुभमूर्हत समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीलगायत उपस्थित रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ